वीरगंज । ललितपुरको बखुण्डोलमा चौधरी ग्रुपले निर्माणा गर्दै आएको समिट अपार्टमेन्ट वरपरका घर भासिएको घटनाप्रति सांसद्हरूले आपत्ति जनाएका छन्। सोमबार संसद बैठकमा बोल्दै उनीहरूले सरकारकै कमजोरीका कारण यो घटना निम्तिएको बताए। सांसद् राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गत वर्ष सरकारको निर्णयका कारण चार पाँच वटा घरहरू भासिएको बताइन्। कार्कीले भनिन्, ‘कुपण्डोल हाइट भासिए। घरहरू भुँइचालो गएर भासिएको थिएन। गत वर्ष सरकारको निर्णयका कारण चार पाँच वटा घरहरू भासिए। त्यसको जग खन्दा गत वर्षको सरकारले घर निर्माण गर्दा सदीयारसँगको दूरी नराख्ने निर्णय गरैकै कारण अहिले घर भासिएको हो।’
सो क्रममा घर बनाउँदा बातावरणीय प्रभाव मूल्याकंन पनि नभएको बताइन्। कार्कीले भनिन्, ‘हामीले विधिको शासन लागू गरौँ भन्छौं तर, सरकार गलत निर्णय गरेकै कारण। यसबारे छानबिन गरियोस।’त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिफ शाहले १६ तले भवनको अपार्टमेन्ट बनाउँदा नक्सा चेकजाँच गर्नुपर्छ कि पर्दैन? भन्दै प्रश्न गरे। उनले भने, ‘उक्त अपार्टमेन्टको नक्सा पास भएको भन्ने पनि छ। जनताले एउटा टहरो बनाए पनि नगरपालिकाले आएर पास गरेको छ छैन भनेर सोध्छ। १६ तले भवनको यत्रो अपार्टमेन्ट बनाउँदा नक्सा चेकजाँच गर्नुपर्छ कि पर्दैन।’ राति घर ढलेर मानवीय क्षति भएको भए के हुन्थ्यो? भन्दै सरकारलाई उनको प्रश्न थियो।
उनले माटो परीक्षणलगायतका विषयमा पनि संसदको ध्यानकर्षण जनाए। ‘सोइल टेष्ट, जियोलोजिकल स्ट्रक्चर एनालाइसिस गरिएको थियो कि थिएन? बिना नक्सा पास १८ रोपनी जग्गामा १६ तले भवनको संरचना निर्माण हुँदै गर्दा किन रोकिएन? कसको मिलेमतोमा भएको हो यो? राति घर ढलेर मानवीय क्षति भएको भए के हुन्थ्यो? जीवन भर लगाएर जोडेको घर भासिँदै गर्दा आम नागरिक उठिबास हुँदा यसको जिम्मा कसले लिने? यथार्थ छानबिन होस्।