बारा । बाराकाे कलैयामा लामो समय देखी अलपत्र परेको कलैया स्थित सहायक हुलाकी सडक कालोपत्रेकाे काम सुरु गर्न माग गर्दै स्थानीयले आईतवार कलैयाकाे तीनकुने चोकमा सडक अवरुद्ध पारेका छन । २४ सै घण्टा सडकमा उडेको धुलोले आजित स्थानीयले बिहान साढे ७ बजे देखी सडकमै टेन्ट राखेर, आगो बालेर, ढाट लगाएर आवतजावत रोकेका छन । उनीहरुले सडकमै धर्नामा बसेर आवतजावत अवरुद्ध गर्दै समस्या समाधान गर्न कलैया उपमहानगरपालिका मेयर, बाराका प्रमुख जिल्ला अधिकारी, हुलाकी सडक योजना कार्यालय वीरगन्जका प्रमुख समेतलाई डाकेका छन । ‘धर्नास्थलमै पुगेर उहाहरुले सडक बनाउन स्थानीयलाई विश्वास दिलाउनु पर्यो,’ आन्दोलनको अगुवाई गरीरहेका स्थानीय जोगिन्द्र कुशवाहाले भने, ‘उहाहरु नआएसम्म आन्दोलन जारी रहने छ ।’ सडकको निर्माण कार्य सुरु नभएसम्म आफुहरु चुप लागेर आनन्दसंग बस्न नसक्ने उनले बताए ।
अर्का स्थानीय उत्कल ऋषी उपाध्यायले माग सम्बोधन नभए आत्मदाह नै गर्ने चेतावनी सार्वजनिक रुपमै दिएका छन ।६० वर्षिय उपाध्यायले सडकको धुलोकै कारण आफु बिरामी परेको र अस्पताल धाउदा धाउदै आजित भएको बताए । स्थानीय युवा तथा समाजका अगुवाहरु सडकमै टेंन्ट राखेर धर्नामा बसेको स्थानीय धिरेन्द्र कुशवाहाले जानकारी दिए । सडक खुलाउन आएको प्रहरी टोलीसंग आन्दोलनकारीको केही बेर विवाद नै चलेको स्थानी हरेराम कुशवाहाले बताए । ‘आन्दोलन कारीको माग जायज छ मेयर साहेबले पनि स्वीकार्नु भएको छ,’ उनले भने, ‘मेयरले पनि चाडो भन्दा चाडो सडक बनोस चाहनु भएको छ ।’ तर राज्यको संयन्त्रको कमजोरीले सडक अधुरै रह्न गएको उनको भनाई छ । तिब्र गतिमा गुड्ने टिपर, बस, मालवाहक ट्रक, स्कार्पियो लगायतका सवारीसाधनले उडाएको धुलोले व्यवसाय चलाउन नै मुश्किल परेको स्थानीय पसलेहरुकाे पनि गुनासाे छ ।
आइतबार दिउँसो आन्दोलन स्थलमा पुगेका कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले सडक बनाउने काम आफ्नो क्षमता भन्दा बाहिरको कुरा भएको बताए । तर पनि छिटोभन्दा छिटो सडक कालोपत्रे गराउन आफु प्रयासरत रहेको उनले बताए । ‘करीब २२ करोडमा ठेक्का भईसकेको सडक ठेकेदार कम्पनीले समयमा निर्माण नगरीदिएको हो,’ उनले भने, ‘यसको काम छिटोभन्दा छिटो सुरु गरीदिन हुलाकी सडक आयाेजना कार्यालयलाई बारम्वार ताकेदा गर्दा र मन्त्रालय धाउदा पनि सुनुवाई हुन सकेको छैंन ।’ स्थानीयबाट भएको आन्दोलन जायज भएको उनले पनि बताए । सडकमा उडेको धुलो कम गर्न उपमहानगरपालिकाले दिनहु पानी पटाउदा पटाउदै हैरान भएको र त्यसमा ठुलो धनराशी खर्च पनि भइरहेको मेयर साहले बताए ।