सौराहा । सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको हात्तीको सुँड अज्ञात समुहले काटिदिएका छन् । विगत २२ वर्ष देखि पर्यटकलाई सफारी गराउँदै आएको चन्चलकलीको सुँड मंगलबार राति ११ बजेको समयमा काटिदिएको खतिवडाले जानकारी दिए ।
राति ११ बजेको समयमा हात्तीको चित्कार सुनेपछि हात्तीसार पुग्दा सुँड काटिएको अवस्थामा पाइएको उनले बताए । माउते निदाएको मौका छोपी अज्ञात समुहले हात्ती मार्ने नियतले आक्रमण गरेको व्यवसायी खतिवडाको भनाइ छ । सौराहामा यस्तो घटना पहिलोपटक हो । हात्तीले सुढको माध्यमबाट पानी खान्छ ।
सुढ काटिएपछि हात्तीलाई पानी खुवाउन समस्या भएको खतिवडाले जानकारी दिए । घाईते हात्तीको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु प्राविधिकहरुले उपचार सुरु गरेका छन् ।उक्त घटनाको विषयमा भने नेपाली सेनाले अनुसन्धान अगाडि बढाएको छ ।