वीरगंज । तीन विद्यार्थी संगठनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पससहित स्ववियु निर्वाचन रोकिएका क्याम्पसपहरुमा एकै दिन निर्वाचन गराउन माग गरेका छन् । नेपाल विद्यार्थी संघ,अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूको बुधबार बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसहरुमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् ।
बैठकपछि नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै रोकिएका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त ठाकुरराम सहितका क्याम्पसमा एउटै मितिमा निर्वाचन सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक गर्न त्रिविसँग माग गरेका छन् । उनीहरुले निर्वाचन हुन बाँकी रहेका क्याम्पसमा लोकतान्त्रिक प्रक्रियाबाट विद्यार्थीलाई आफ्नो प्रतिनिधि चुन्ने अधिकार पनि सुनिश्चित गराउन पनि माग गरेका छन्।
तीन विद्यार्थी संगठनले ठाकुरराम सहितका क्याम्पसमा अवैधानिक भर्ना र क्याम्पस प्रशासनको चरम लापरवाहीका कारणले स्ववियु निर्वाचन यही चैत ५ गते हुन नसकेको आरोप लगाएका छन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस , काठमाडौंको अमृत साइन्स क्याम्पस, त्रिचन्द्र वहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस , नेपाल कर्मश क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, चितवनको वीरेन्द्र वहुमुखी क्याम्पस चितवन,चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा स्विवियु निर्वाचन गर्न बाँकी छ ।