वीरगंज । वीरगन्ज महानगरपालिकाले शहरबाट संकलित कचरा सहितको फोहोर नेपाल टेलिकम परिसरभित्र लगेर फालेको छ । वीरगन्जका विभिन्न स्थानमा सेवा विस्तारका क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आक्रोशमा मंगलबार बिहान महानगरपालिकाले शहरबाट संकलित कचरासहितको फोहोर श्रीपुर स्थित टेलिकमको प्रादेशीक निर्देशनालय कार्यालय परिसरमै लगेर फालि दिएको हो । महानगरपालिकाले वीरगन्जमा सन्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र कार्यालयको मुख्य प्रवेशद्वारमै लगेर फालेको हो । महानगरका मेयर राजेशमान सिंहका अनुसार , टेलिकमले अप्टिकल फाइबार ओछ्याउने क्रममा बाइपास सडकखण्डको कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ । खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको मेयर सिंहले बताए ।कार्यालयमै फोहोर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।
उनका अनुसार , यसअघि फागुन ३ गते प्रमुख जिल्ला अअधिकारीकै उपस्थितीमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक पटक आग्रह गर्दै आएको थियो । फोहोरसहितको टयाक्टर लिएर टेलिकम परिसरमा आफैं पुगेका घिमिरेले भने,‘ वीरगन्ज शहरलाई सफा र सुन्दर बनाउन महानगरले अभियान नै चलाइरहेको छ , यो अवस्थामा टेलिकमले सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र पर्दा बाइपास सडक कुरुप भएको छ ,त्यसलाई पहिलेकै अवस्थामा पुग्ने गरि मर्मत गरिदेउ भनेर पटक आग्रह गर्दा कुनै टेरपुच्छर नलगाएपछि हामी यो अप्रिय कदम चाल्न बाध्य भएका हौं । उक्त सहमति पालना गराउनका लागि महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाइ पनि पत्र लखेर आग्रह गर्दा पनि टेलिकमले नटरेको घिमिरेको भनाई छ ।
घिमिरेले भने,‘ अब हामीले कति चोटी अनुरोध गर्ने ? हामीसंग अरु कुनै विकल्प नै भएन , नागरिकलाइ त महानगरपालिकाले नै काम गरेन भन्ने सन्देश गइरहेको छ , महानगर अब टुलुटुलु हेरेर बस्न सक्दैन , त्यसकारणले गर्दा आज फोहोर ल्याएर टेलिकममा फालिएको हो , अब मिडियाबाट यो विषय टेलिकमको केन्द्रिय कार्यालयमा पुग्नेछ र समस्याको सामधान हुनेछ भन्ने अपेक्षा लिएका छौं ।महानगरले चलाएको सफा र सुन्दर शहर बनाउने अभियानमा टेलिकमले भाँजो हालेको पनि उनले बताए ।यता टेलिकम प्रादेशीक निर्देशनालयका निर्देशक अनन्त प्रकाश मल्लिकले भने महानगरपालिकाबाट कानूनी राज्यको उपहास गरिएको प्रतिक्रिया दिए ।नेपाल टेलिकम पनि राज्यको सम्पति भएको भन्दै उनले भने,‘ फोहोर ल्याएर टेलिकम भित्र फाल्नुले कानूनी राज्यको उपहास भएको छ , यो अराजकता हो ।यसबारे जिल्लाका सुरक्षा निकायका प्रमुख देखि टेलिकमको केन्द्रिय कार्यालय सम्म आफुले जानकारी गराइसकेको मल्लिकले बताए ।