वीरगंज । सुरक्षा कारण देखाउँदै अष्ट्रेलिया सरकारले सङ्घीय सरकारको स्वामित्वमा रहेका सबै उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएको छ । चिनियाँ स्वामित्वको भिडियो एप टिकटकमाथि मङ्गलबारदेखि लागू हुनेगरी सङ्घीय सरकारको स्वामित्वमा रहेका सम्पूर्ण उपकरणबाट हटाउने आदेश दिइएको हो । पछिल्लो समय पश्चिमी मुलुकहरुले टिकटकमाथि प्रतिबन्ध लगाउन थालेपछि अष्ट्रेलियाले पनि यसलाई पछ्याएको छ ।
चिनले टिकटक मार्फत आफ्नो राजनीतिक अजेण्डा अगाडि बढाउने, डाटा चोरी तथा सङ्कलन गर्ने जस्ता चिन्ताहरु व्यक्त गर्दै प्रतिबन्ध लगाउने निर्णय गरिएको अष्ट्रेलिया सरकारले जनाएको छ । टिकटकको मुख्य कार्यालय चिनको राजधानी बेइजिङमा छ । प्रतिबन्धलाई तत्कालै लागू गर्न अष्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसले एक विज्ञप्ति निकाल्दै जानकारी गराएका छन् ।
अष्ट्रेलियाको प्रतिबन्धसँगै तथाकथित फाइभ आइज खुफिया-साझेदारी नेटवर्कका सबै सदस्यहरुले पनि यस्तै प्रतिबन्धको घोषणा गरेका छन् । नेटवर्कमा अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत र न्यूजील्याण्ड छन् । पाँच वटै देशले सरकारी उपकरणहरूबाट एपलाई प्रतिबन्धित गरेका छन् । फ्रान्स, बेल्जियम र युरोपेली आयोगले पनि यस्तै प्रतिबन्धको घोषणा गरेका छन् ।