वीरगंज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०÷१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने,‘ सोमबार बसेको निगमकोे बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । खाना पकाउने एलपि ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको उनले जानकारी दिए ।
निगमको सोमबारको निर्णयसँगै अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १७५ रुपैयाँ थियो । यस्तै अब हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ । यस्तै पेट्रोलको मूल्य अब घटेर लिटटरको १७५ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपि ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै याथावत राखिएको निगमले जनाएको छ ।