जनकपुर । सांस्कृति सम्पदा संरक्षणको कार्यभार बोकेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् पछिल्लो समय निकै विवादमा परेको छ। परिषदका अध्यक्ष र कर्मचारी बीचका विवाद र असहमतिहरूले एकातर्फ परिषदको काम कारबाही सञ्चालनमा समस्या आएको छ भने अर्को तर्फ भ्रष्टाचार र अपारदर्शीताले संस्थाको अस्तित्व माथि नै प्रश्न चिह्न उठाएको छ। संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत रहेको परिषदले मिथिलाको प्रख्यात पञ्चकोशी माध्यमिकी परिक्रमा सञ्चालन हुने धनुषा र महोत्तरी जिल्ला भित्रका परिक्रमा पडाव स्थलहरूको संरक्षण, बाटोघाटो निर्माण, सांस्कृतिक सम्पदाहरूको जगेर्ना लगायतका मुख्य कामहरूको जिम्मेवारी बोकेको छ। तर, जिम्मेवारी वहन गर्नुको साटो प्राप्त बजेटमा भ्रष्टाचार र अपरादर्शिताले गर्दा आगामी कार्यक्रमहरू प्रभावित भएका छन्। जम्मा ३ करोड रुपैयाँ वार्षिक बजेट छुट्याइएको परिषदको हालसम्मको बेरुजु मात्रै १२ करोडभन्दा बढी रहेको छ। कर्मचारीहरूको काम नगर्ने प्रवृत्ति, अध्यक्ष र कार्यकारी निर्देशक बीच समन्वय अभावका कारण पछिल्लो ६ महिनादेखि परिषदका २४ जना कर्मचारीहरूले तलब समेत खान पाएका छैनन्।
‘जुन उद्देश्यका साथ यो संस्था गठन भएको हो त्यो उद्देश्य पुरा गर्ने ठोस कार्ययोजना नै नभएको कारण एति धेरै समस्याहरू आइरहेका छन्,’ परिषदका कर्मचारी जितेन्द्र यादव भन्छन्, यहाँ राजनीतिक नियुक्ति हुन्छ। अब जसको सरकार छ उसकै पार्टिको अध्यक्ष भयो भने त खासै गाह्रो हुँदैन तर, विपरीत दलको सरकार भयो भने परिषदलाई नहेर्ने र यसको बजेट समेत कटौती गर्ने प्रवृक्तिहरू देखिएको छ,’ यादवले थपे, यसपटक सरकारले विकास बजेट निकै कम दिएको छ र भएको बजेटमा समेत कार्यप्रगति देखाउन नसकेको कारण कर्मचारीहरूको तलब निकासा हुन सकेको छैन्। हामीले त न दशैं मनाउन पाएका छौं न तिहार र होली नै।’ यता, परिषदका अध्यक्ष शीतल साह यस संस्था भित्र पहिलादेखि नै भएको भ्रष्टाचारको श्रृंखलाहरूको कारण आगामी कामहरू समेत प्रभावित भएको बताउँछन्। ‘यस संस्थाका पहिलाका कार्यकारी निर्देशक र कर्मचारीहरूले प्राप्त बजेटमा व्यापक भ्रष्टाचार र अनियमितताहरू गरेको जनगुनासोहरू म यहाँ नियुक्त भएपछि आउन थाले। त्यसपछि मैले पाँच महिना अघि मेरै संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरे र हाल मसँग थुप्रै यस्ता प्रमाणहरू आएका छन् जसले यहाँ अकुत भ्रष्टाचार भएको प्रमाणित गर्छ,’ अध्यक्ष साह भन्छन्, जुन पवित्र उद्देश्यका लागि यो संस्थाको गठन भएको थियो त्यसलाई धोमिल बनाउने कामहरू विगतमा भएका छन्।’साह अध्यक्ष नियुक्त भएपछि तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए। तर, निर्देशक ठाकुरले स्पष्टीकरण दिनुको साटो जिल्ला अदालतमा आफूलाई नियतबस अध्यक्षले हटाउन खोजेको भन्दै मुद्दा हालेपछि अदालतले परिषदलाई तत्कालका लागि कारबाही रोक्काको आदेश दिएको थियो।
ठाकुर कार्यकारी निर्देशक हुँदा उनले परिषद्को नाममा दानमा दिएको जीप आफ्नो श्रीमति ईन्दुलेखा कुमारी ठाकुरका नाममा यातायात व्यवस्था कार्यालयको विलबुकबाट नामसारी गराएका थिए। २०७६ कात्तिक १४ गते दोलखा जिल्ला विगु-७ निवासी जेन्डील शेर्पाल वा.१३ च २०३७ नं. को निजी जीप संलग्न कागजातहरू परिषदलाई दानमा दिएका थिए तर, सो जीपलाई पूर्व निर्देशकले आफ्नो परिवारको नाममा नामसारी गराई मनमौजी उपयोग गरे। पछि २०७८/४/०५ गते सोही गारी परिषदका सवारी चालक धनिराम मण्डलको नाउँमा नामसारी गराई त्यसका नाममा विभिन्न मितिमा ४५ लाख रुपैयाँ भन्दा बढी भाडा, मर्मत र इन्धन समेतको खर्च गरेको स्पष्टीकरण पत्रमा उल्लेख छ। त्यसैगरी पूर्व निर्देशक ठाकुरले आफ्नो पदको चरम दुरूपयोग गरि प्राप्त बजेटमा भ्रष्टाचार गरेको स्पष्टीकरण पत्रमा उल्लेखित छ। पूर्व निर्देशक ठाकुरको पदभार गत आश्विनमै समाप्त भइसकेपनि उनले हालसम्म परिषदबाट लगेको २ वटा ल्यापटप र दुईवटा महंगो मोबाइल हालसम्म कार्यालयमा बर बुझारथ नगरेको अध्यक्ष साहले जानकारी गराए। उनले भने, ‘पूर्व निर्देशकले कार्यालयका अन्य सामानहरू पनि राखेका छन् तर, जति सुकै ताकेदा गर्दा पनि फर्काउन मानेका छैनन्।’