वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सहकारी संस्थाहरुलाई बलियो बनाउन महानगरले नीतिगत तथा व्यवहारिक रुपमा काम अगाडी बढाएको बताएका छन् । ६६ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा वीरगन्जमा साेमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दैनिक कमाएर जीवन निर्वाह गर्नेहरुको सहारा रहेको सहकारीलाई बलियो बनाउन महानगर सँधै तयार रहेको बताए ।
तीन खम्बे अर्थ नीति अनुरुप सहकारी एक खम्बा रहेकाले यसलाई विश्वसनीय र सेवा चुस्त बनाउन सहकारीकर्मीहरुले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरे ।कार्यक्रममा महानगरका उपमेयर इम्तियाज आलमले केही सहकारीका कारण समग्र सहकारी बदनाम हुनु पर्ने अवस्था अन्त्य गर्न सहकारी संचालकले बदमासी गर्न नहुने बताए ।कार्यक्रममा नेफस्कुनका हरेराम पटेलले स्थानीय सरकारले सहकारी दर्ता गरिदिएर मात्रै नभई उनीहरुलाई प्रशिक्षण तथा नियमनमा अग्रसर भइदिनु पर्ने बताए ।
कार्यक्रम अघि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ भन्ने नाराका साथ घण्टाघरबाट निस्केको प्रभातफेरी नगरपरिक्रमा पछि पुनः घण्टाघर पुगेर कार्यक्रममा परिणत भएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थिति विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सहकारीकर्मीको सहभागीता रहेको थियो ।