महोत्तरी । एसईई परीक्षाको लागि महोत्तरीको एक परीक्षा केन्द्रमा खटेका नेपाल प्रहरीका एक जना असईको मृत्यु भएको छ ।
महोत्तरीको बलवा नगरपालिका वडा नम्बर १० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रमा खटेका असई ललनकुमार राय पटेलको मृत्यु भएको हो । परिक्षा केन्द्रमा खटेका पटेलको अचानक स्वास्थ्य अवस्था बिग्रीएपछि उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको थियो ।
उपचारको क्रममा बिहान ९ बजेर २५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए । रौतहटको गौर नगरपालिका २ घर भएका असई पटेल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए ।