बारा । बैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा –२ मा ९२९ जना मतदाता थपिएका छन् । यसअघि मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँ १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४२ र महिला ४६ हजार २६९ थिए ।
आसन्न बैशाख १० गते हुने उपनिर्वाचनका लागि भने सो निर्वाचन क्षेत्रमा ९२९ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जनाएका छन् ।
गएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरेको छ ।
बैशाख १० गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय बारा निर्वाचनको तयारीमा जुटेको छ । ‘हामीसँग समय अत्यन्तै थोरै भएकाले अहिले निर्वाचन सामग्री व्यवस्थापन, मनोनयन दर्ताको लागि अनुसूची फारम छपाई गर्ने लगायको काम सुरु भइसकेको छ’ जिल्ला निर्वाचन अधिकृत चौधरीले भने ।
भोलि शनिवार बारा–२ को उपनिर्वाचनको लागि निर्वाचन कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता, मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, चैत २२ गते उम्मेदवारको नामावली प्रकाशन, २३ गते उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन तालिका रहेको छ ।
बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ । जिल्ला निर्वाचन अधिकृत चौधरीले निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारीको विवरण तयार पर्ने काम भइरहेको बताएका छन् ।
‘उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि चुनाव हुने दिन भन्दा ७२ घण्टा अघिसम्म उहाँहरूले चुनाव प्रचारप्रसार गर्न पाउनुहुन्छ’ चौधरीले भने । निर्वाचन सञ्चालनका लागि केन्द्रबाट हालसम्म बजेट निकासा नभएकाले सरोकारवाला निकायहरूसँग निर्वाचन सम्बन्धी कुनै पनि कार्यक्रमहरू गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।