वीरगंज । तीन सुत्रीय माग राखी आइतबार बिहानैदेखि हड्तालमा उत्रिएका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी)मा कार्यरत नेपाल इन्टर मोडल यातायात विकास समितिका करार कर्मचारी काममा फर्किएका छन् । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलको उपस्थितिमा कर्मचारीसँग भएको पहिलो चरणको छलफलपछि काममा फर्किएका हुन् । उनीहरु आइतबार साँझबाट नै काममा फर्किएका हुन् ।
समितिका कार्यकारी निर्देशक गजुरेलले भने, ‘आइतबार साँझ र सोमबार बिहान पनि आन्दोलनरत कर्मचारीसँग दुई चरणमा भएको छलफल सार्थक रह्यो, उनीहरु काममा फर्किसके ।’ उनका अनुसार झण्डै ५ वर्ष काम गरिसकेका समितिका करारका कर्मचारीलाई आगामी दिनमा पनि काममा निरन्तरता दिन आईसीपी सञ्चालनको ठेक्का पाएको कैलाश टर्मिनल्स जेभीको व्यवस्थापन सहमत भएको छ । कर्मचारीको माग बमोजिमा उपदान भने करारका कर्मचारीलाई दिन नमिल्ने उनले बताए । औषधोपचारको सुविधा नियमअनुसार कर्मचारीहरुले पाउने उनले बताए ।
चैत १८ देखि आईसीपी वीरगन्जको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रको कम्पनी कैलाश टर्मिनल्स जेभीले लिँदैछ । कैलाश टर्मिनल्स जेभीले ५ वर्षका लागि १ अर्ब ८० करोड ९० लाख रुपैयाँमा आईसीपी सञ्चालनको ठेक्का पाएको हो । आफू थप केही दिन वीरगन्जमै बसेर आईसीपी वीरगन्जको व्यवस्थापन हस्तान्तरण लगायतका प्रकृयामा सहजीकरण गर्ने गजुरेलले बताए । कर्मचारीको हड्तालका कारण मुलुकको प्रमुख स्थल भन्सार नाका आइतबार दिनभरजसो ठप्प रहृयो ।