सप्तरी । सप्तरीमा पत्रकार भन्दै सर्वसाधारणमा आतंक फैलाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिलाठी कोईलाडी गाउँपलिका –४ का २५ बर्षीय विक्की भनिने प्रह्लाद कुमार सिंहलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई पत्रकार भनी सर्वसाधारणमा अनावश्यक दुख दिने, आतंक सिर्जना र ठगी धन्दा चलाएको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखी वाधा विरोध मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए ।
पक्राउ परेका सिंहमाथि ठगी तथा ज्यान मार्ने उद्योग मुद्दासहितका धेरै उजुरी परेकाले आवश्यक अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए । सिंहले शम्भुनाथ मिडिया हाउस प्रालिद्वारा संचालित के छ खबर अनलाइनको परिचय पत्र देखाएर सर्वसाधारणलाई विभिन्न किसिमको झेलजालमा फँसाई पैसा असुल्ने, नक्कली पत्रकारको परिचय पत्र बनाइ समाजमा आतंक फैलाउदै आएका थिए । पत्रकारिताको आडमा अनैतिक कार्यहरु गर्दै आएकोले पछिल्लो समय उनी विरुद्ध पीडितहरुले उजुरी गरेका थिए । आरोपित उपर लागेको मुद्दा मिलाइ दिने भनेर पैसा माग्ने,होटेलमा खाएको पैसा तिर्न नमान्ने, पसलहरुमा प्रेस कार्ड देखाएर उधारो सामान लिने, रिपोर्टिङको नाममा बार्गेनिङ गर्ने कार्यहरु गर्दै आएको आरोप उनीमाथि लागेको छ । राजविराजको रुपनी रोडमा सञ्चालनमा रहेको नेपाल होटेलका सञ्चालक कृष्ण यादवलाई पटक–पटक धम्काउने र होटेलमा खाएर पैसा तिर्न नमान्ने जस्ता अनैतिक कार्य गरेको गम्भीर आरोप उनीमाथि लागेको छ । राजविराजका अजय आदित्यलाई फोन मार्फत ज्यान मार्ने धाक धम्की दिएको तथा विभिन्न बहानामा फँसाउने षड्यन्त्र गरिरहेको आरोपसमेत उनलाई लागेको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले पत्रकारको बदनाम गर्ने सिंहलाई कडा कारबाही हुनुपर्ने बताए । सिंहलाई आफुले नचिनेको र पत्रकारको आडमा गलत फाइदा उठाएको भए हदैसम्मको कारबाही गर्नुपर्ने उनले जोड दिए । सिंहसहित उनका भाइ र अन्य तीन जना उपर ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयले प्रहरीलाई पत्राचार गरेपछि सिंह पक्राउ परेको श्रोतको दाबी छ । सिंहका भाइ विकास सिंह, मदन कुमार सिंह, प्रिन्स सिंह र राजविराज २ स्थित आर्मी ब्यारेकमा कार्यरत बिटु सिंह समेतले उक्त कसुर गरेको पत्रमा उल्लेख गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई मुद्दा दर्ता गर्न पत्राचार गरेका छ्न ।