बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संविधानको पालना, संरक्षण र राष्ट्रिय एकतालाई अझ बलियाे बनाउन आफ्नो ध्यान केन्द्रीत रहने बताएका छन् । यसको लागि आफुले इमान्दारिताका साथ काम गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक आइतबार गृह जिल्ला बारा आएका यादवले गढीमाई मन्दिरको दर्शनपछि आयाेजित स्वागत कार्यक्रममा बाेल्दै कसैलाई पनि भेदभाव नगरी सबैलाई समेटेर काम गर्ने बताए ।
आफू सामान्य परिवारमा जन्मेको र पढे, लेखेर शिक्षण पेशा अपनाएर राजनीतिमा लाग्दा आज देशकै उपराष्ट्रपति बन्न सफल भएको उनले बताए ।
देशको विकासको लागि सबै नागरिक शिक्षित हुनुपर्नेमा जाेड दिदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रको लागि आँफूले सक्दो पहल गर्ने बताए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले गढीमाई मन्दिरलाई पर्यटकीय स्थलमा रुपमा विकास गर्नको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले उपराष्ट्रपति र मुख्यमन्त्रीसँग गढीमाई मन्दिर क्षेत्रको विकासमा सहयोग गर्न आग्रह गरे ।