वीरगन्ज । नाबालक छोराले खाइरहेको खानाको थालभरि भन्किरहेका झिंगा देखाउदै कुन्दन देवीले भनिन्,‘ मुर्र्गा फारम (कुखुरा फार्म ) को दुर्गन्ध र झिंगाले बसिखानु छैन , खानामै झिंगा आएर बस्छ , त्यही खाना सबैले खानुपर्ने बध्यता छ, त्यसैले बालबच्चा बिरामी परिरहन्छन् ,अझ त्यसमा सुलीको दुर्गन्ध चौबिसी घण्टा आइरहन्छ ,श्वास फेर्नै उकुसमुकुस हुन्छ ।
पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ गादीमा विगत ६ वर्ष देखि सन्चालनमा रहेको शीवम् लेयर्स फार्म प्रालिको दुर्गन्ध र झिंगा आतंकबाट कुन्दन देवी जस्तै ५ वटा वस्तीका १० हजार भन्दा बढि स्थानीय पिडित छन् ।फार्मले दिएको पिडा थप्दै कुन्दनदेवी भन्छिन् ,‘ कुखुरा फार्मको दुर्गन्ध र झिंगाको आतंकले छोरीचेली पनि माइत आउन छाडिसके , कहिलेकाहि आइहाले पनि सन्चोबिसन्चो सोधेर फर्कि हाल्छन् , माइतीमा एक रात बास बस्न पनि मान्दैनन् ।
गादीमा सन्चालित उक्त कुखुरा फार्मले कुखुराको सुली , मरेका कुखुरा र अन्य फोहोरको व्यवस्थापन नगरिदिदा त्यसको दुर्गन्ध र झिंगाको आतंकले वडा नम्बर २ र ३ का करिब १ हजार धुरी घरपरिवारको दैनिकी विगत ६ वर्ष देखि कष्टकर बन्न पुगेको छ । दुर्गन्ध र झिंगा प्रकोपका कारण वडा नम्बर २ र ३ का पाँच वटा वस्ती महामारीको उच्च जाोखीममा छन् ।
गादीकी स्थानीय हरिमाया थरुनी भन्छिनन् , फार्म खुलेको एक दुइ महिना पछि नै दुर्गन्ध र झिंगाको प्रकोपले गाँउमा बसिखानु भएको छैन , अरु त परैको कुरा झिंगाको आतंकले झुल भित्र बसेर खाना खानु पर्छ , दुर्गन्धका कारण सफा श्वास लिएको पनि वर्षौ भइसक्यो । हामीलाई बाँच्न दिने हो भने कि त दुर्गन्ध र झिंगाबाट मुक्ति दिनु परयो कि त यो फार्म गाँउबाट हटाइ नै दिनु परयो ।
कुखुरा फार्मको दुर्गन्ध र झिंगा आतंकबाट पिडित स्थानीयले पटक पटक गुनासो गर्दै आइरहेको भएपनि फार्म सन्चालकले समस्या सामधान गर्नुको सट्टा धाकधम्की दिएर गाँउलेलाई तर्साउदै आएको स्थाानीय बताउछन् ।
गाँउ कार्यपालिकाका पुर्व सदस्य समेत रहेका दिपक कुमार भन्छन्‘ फार्ममा मरेका कुखुरा सिधै खोलामा फालिदिन्छन् , सुलीको उचित व्यवस्थापन पनि छैन , जसका कारण त्यसको दुर्गन्धले घरभित्रै श्वास फेर्न पनि मुश्किल छ , झिंगाको आतंक यति छ कि भोक लाग्दा पनि खाना खान सकिदैन ।
फार्मबाट निस्कने फोहोरको दुर्गन्ध र झिंगको प्रकोपले खेतीपाति गर्न पनि अप्ठ्यारो भइरहेको दुखेसो उनी सुनाउछन् । उनी भन्छन्,‘ खतेबारीमा जे पनि रोप्दा बाली हुर्केर फसल लाग्ने बेला झिंगाले चुसेर खाइदिन्छ , पुरा बाली नै सखाप हुन्छ ।
फार्म सन्चालकले शुरुमा दाल उद्योग खोल्ने भनेको तर पछि कुखुरा फार्म सन्चालनमा ल्याएको उनी बताउछन् । दिपक भन्छन्,‘ हामी गाँउलेलाई सन्चालकले दाल फैक्ट्री खोल्न लागेको भन्दै झुक्याएर चौहदीमा सही गर्न लगाए तर पछि उनले कुखुरा फार्म पो खोले ।
दुर्गन्ध र झिंगाको प्रकोप व्यवस्थित गर्न फार्म सन्चालकले पटक पटक झुठा आश्वासन मात्रै दिदै आएको उनी बताउछन् । उनी भन्छन्,‘ समस्या सामधान गर्नुको सट्टा फार्म सन्चालक गाँउलेलाई पेलेरै जाने मनस्थितीमा देखिएका छन् ।
वडा नम्बर २ गाादीको मकवानी टोलका स्थानीय विजय मिश्राको गुनासो पनि उहि छ । उनी भन्छन्,‘ गाँउमा फार्म खुल्ने कुरा सुन्दा गाँउको विकास हुन्छ , जग्गाको भाउ बढ्छ , गाँउलेले रोजगारी पनि पाउछन् भनेर हामी निक्कै खुशी भएका थियौं , त्यभिएर हामीले सस्तैमा फार्मलाई जग्गा पनि दियौ , चौहदीमा सही पनि गरिदियौ । तर अहिले भने यो कुखुरा फार्म झिंगा र दुर्गन्धको फैक्टी मात्रै भयो ।
२४ सै घण्टा आइरहने दुर्गन्ध र झिंगको आतंकले गाँउघरमा आयोजना गरिने भोजभेतरमा आएकाहरु खाना नखाइ भोकै फर्किने गरेको मिश्रा सुनाउछन् । उनी भन्छन्,‘ घरका केटाकेटीहरु झिंगा भन्केकै खाना खाएर बिरामी परिरहन्छन् , छोरीचेली आफनै माइतीमा आउन पनि आलटाल गर्छन् , यो पिडा खेपेर हामी कहिलेसम्म बाच्नुपर्ने हो थाहा छैन ।
१५ दिनभित्र फार्म बन्द गर्न पालिकाको निर्देशन
वडा नम्बर २ र ३ मा पर्ने गादी , मकवानी सहित ५ वटा वस्तीका गरि करिब १० हजार स्थानीय कुखुरा फार्मको दुर्गन्ध र झिंगाको आतंकले प्रताडित भएको ६ वर्ष बितेपछि गाँउपालिकाले बल्ल फार्म विरुद्ध कारबाहीको प्रकृया थालेको छ ।
पटेर्वा सुगौली गाँउपालिकाले १५ दिनभित्र फार्म बन्द गर्न सन्चालकलाई निर्देशन दिएको छ । चैत ८ मा बसेको गाँउकार्यपालिकाको बैठकले फार्म छेउ आसपासका १ सय भन्दा बढि स्थानीयले फार्म विरुद्ध दिएको उजुरी दिएकोको आधारमा चैत २ गते अनुगमन गर्दा फार्मले तोकेको शर्तहरु पालना नगरेको भेटिएको र त्यस बारे पटक पटक जानकारी गराउँदा पनि सन्चालकले अटेरी गर्दै आएको कारण १५ दिनभित्र उक्त फार्म बन्द गर्न निर्देशन दिने निर्णय गरेको हो । उक्त निर्देशन सहितको पत्र गाँउपालिका कार्यालयले चैत ९ गते फार्म सन्चलकलाई पठाएको छ ।
फार्म सन्चालनको अनुमति दिने निकायले तोकेका शर्तहरु तथा प्रचलित कानून अनुसारको वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गर्न जानकारी गराउँदा समेत फार्म सन्चालकले ती शर्तहरु पुरा नगरेको र मापदण्ड विपरित फार्म संचालन गर्दै आएको उक्त पत्रमा उल्लेखछ ।
फार्म सन्चालकलाई पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेरी गर्दै आएको र दुर्गन्ध बढ्नुको साथै झिँगा भन्किने समस्या बढ्दै गएकोले चैत २ गते गरिएको अनुगमन समितिको प्रतिवेदन अनुसार फार्म बन्द गर्न १५ दिनको अल्टिमेटम दिइएको पालिका उपाध्यक्ष महता महतो थारुले बताइन् ।
उपाध्यक्ष महत्तोले पटक पटक जनगुनासो आएपछि फार्म भित्र गएर अनुगमन गर्दा मरेका कुखुरा र सुलीको व्यवस्थापन नगरिएको , त्यसैका कारण निस्कने दुर्गन्ध र झिंगाले वातावरण प्रदुषित बनाएको बताइन् । यसका साथै गाँउलेको खानपान , स्वास्थ्य , खेतीपातिका साथै दैनिकीमै पनि असर पारेको अवस्था रहेको उनले बताइन् ।
उनले भनिन्,‘ हामी जनताबाटै चुनिएर आएका हौं , त्यसैले जनताको दुखपिडामा साथ दिनु हाम्रो कर्तब्य र जिम्मेवारी नै हो , १५ दिनभित्र फार्म बन्द गर्न पालिकाले निर्देशन दिइसकेको छ , यदि सन्चालकले मानेनन् भने पालिका आफैले त्यो फार्म बन्द गराइदिन्छ ।
पालिकाले एकतर्फि निर्णय गरयो – फार्म सन्चालक
यता फार्मका सन्चालक शीवजी साह कलवार भने फार्म बन्द गरेर समस्या सामधान नहुने बताउछन् ।
फार्म नै बन्द गर्न पालिकाले दिएको निर्देशन उचित नभएको उनले बताए । फार्मका कारण देखिएको समस्या सामधानका लागि आफु तयार रहेको र त्यसका लागि प्रयाास पनि गरिरहेको अवस्थामा पालिकाले एकतर्फि निर्णय गरेको गुनासो उनको छ ।
कलवार भन्छन्,‘ दुर्गन्ध र झिंगाको व्यवस्थापनका लागि काम भइरहेको छ , सुली र मरेका कुखुराको व्यवस्थापनका लागि पनि हामीले काम गरि नै रहेका छौ ।
स्थानीय तह केवल जनताको मात्र नभई सबै पक्षको अभिभावक भएको भन्दै कलवार भन्छन्,‘ यदि कुनै समस्या देखिन्छ भने त्यसका लागि पालिकाले छलफलका मााध्यमले सामधान गर्नु उसको दायित्व हो । हामी सुधार गर्न तयार हुदा हुदौ पनि पालिकाले एकतर्फी निर्णय गरेकोले त्यसलाई मान्न सकिदैन ।
पालिकाले फार्मसंग कुनै छलफलर समन्वय नै नगरि १५ दिनभित्र फार्म नै बन्द गर्ने एकतर्फी निर्णय गरेको उनको भनाई छ ।