वीरगंज । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अन्तरघातीलाई कारवाही गर्ने तयारी सुरु गरेको छ । शनिवार केन्द्रीय कार्यकारिणी समितिको बैठकले कारवाही गर्ने तयारी गरेको छ । निर्वाचनको क्रममा अन्तरघात गरेका, खुला वा गुपचुप रूपमा अरू नै पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका, बागी उम्मेदबार बनेका सदस्यहरूमाथि कडा कारबाही गरिनु पर्ने बैठकमा आवाज उठेको छ ।
निर्वाचनको समयमा एक पटक पार्टी छाडेपछि पुनः पार्टीमा फर्किन नदिने वा फर्किए पनि ६ वर्ष कुनै पदाधिकारी वा उम्मेदवार बन्न नपाउने जनमत पार्टीको तयारी छ । पार्टीले कारवाही गर्ने तयारी गरेपनि कुन– कुन व्यक्तिलाई कारवाही गरिने सो विषयमा निर्णय गरिसकेको छैन् । साथै नेता र कार्यकर्ताहरूलाई अनुशासित र मर्यादित बनाउन तथा कमान्डचेनमा रहेर काम गर्नका लागि पुनः प्रशिक्षण दिने, अनुशासन पालना गरे–नगरेको अनुगमन गर्ने र अनुशासन तोडेको पाइएमा अविलम्ब कारबाही गरिने संयन्त्र निर्माण गर्ने विषयमा समेत छलफल भएको छ ।
बैठकले प्रारम्भिक गृहकार्य गर्दै पुनः एक सप्ताह पछि बस्ने गरी सम्पन्न भएको छ । बैठकमा संगठनको पुर्नसंरचना, केन्द्रीय संरचनाहरूको पुनर्गठन, संघीय परिषद् र प्रादेशिक समितिहरूको गठन, घर–घर जनमत अभियान, जनमत प्रवेश महाअभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन, प्रशिक्षण र अनुशासन, जिल्ला इन्चार्जहरूको नियुक्ति÷फेरबदल, जिल्ला अधिवेशनको तयारी, भातृसंगठन, मोर्चा र विभागहरूको पुनर्गठन, हरेक जिल्लामा प्रभावकारी र नियमित कार्यालय तथा हेल्पडेस्क व्यवस्थापन आदि विषयमा छलफल भएको थियो ।