वीरगंज । रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । बृन्दावन नगरपालिकाका प्रमुख बिनोद प्रसाद कुर्मीले भवनको शिलान्यास गरेका हुन् । शिलान्यासपछि आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कुर्मीले जनताहरूलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
भौतिक पूर्वाधार र उपकरणको अभावमा नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित भएकोमा चिन्ता व्यक्त गर्दै उनले केही समयभित्रै ति समस्याको समाधान हुने आश्वासन दिलाए । साथै उनले उपचारका लागि रौतहटको चपुर, गौर, वीरगञ्ज, भरतपुरदेखि काठमाण्डौसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्ने दावी पनि गरेका छन् । अत्याधुनिक सेवा सुविधासहितको स्वास्थ्य चौकी निर्माण भएपछि जनतालाई धेरै राहत पुग्ने नगरप्रमुख कुर्मीको विश्वास छ । साथै उनले निर्माण कम्पनीलाई पनि सम्झौताअनुरुप समयमै निर्माण गर्न निर्देशन पनि दिएका छन् ।
लामो समयको प्रतीक्षापछि वडामा पहिलोपटक स्वास्थ्य चौकी स्थापना भई भवनको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । बजरंगी निर्माण सेवा कटहरियाले ५० लाख रुपैयाँमा भवन निर्माणको टेन्डर सकारेको छ । चालु आर्थिक वर्ष जेठ महिनाभित्र निर्माण कार्य सम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको नगरपालिकाका जिन्सी प्रमुख रासनारायण पटेलले बताए । बृन्दावन नगरपालिकाका वडा नं ६ का वडाअध्यक्ष मजहर मनसुरीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा उपप्रमुख संगीता कुमारी राम, वडाअध्यक्ष, जनप्रतिनिधि, कर्मचारी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।