वीरगञ्ज । वीरगञ्जमा चोरी घटनामा वृद्ध भएको स्थानीयहरुले गुनासो गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रानीघाट टोल र आसपासका क्षेत्रमा पछिल्लो समय चोरीको घटनामा वृद्धि भएको स्थानीयहरुले गुनासो गरेका हुन् । चोरहरुले घर राखिएको सामग्रीदेखि नालामाथिको प्लेट र बार पनि चोरी गर्ने गरेको बुझिएको छ । स्थानीय पुकार सुवेदीका अनुसार चोरहरुले पछिल्लो समय घरमा राखिएको साइकल, पानी तान्ने मोटर, चिमदेखि नाला ढाक्न राखिएको प्लेट र बारहरु चोरी गरेका छन् ।
चोरहरुले नाला ढाक्न राखिएको प्लेटलाई फुटाएर त्यसभित्रको डण्डी निकालेर लग्ने गरेको सुवेदीले जानकारी दिए । टोलको विभिन्न स्थानमा वीरगञ्ज महानगरपालिकाले नाला ढाक्नका लागि राखेको प्लेट र बारहरु चोरी भएको उनले बताए । चोरीको घटना वृद्धि भइरहेको बेला स्थानीय प्रहरी र प्रशासनले कुनै कारवाही नगरेको सुवेदीको गुनासो छ । जिल्ला प्रहरी कार्यालय पर्साको छेउमै रहेको टोलमा चोरीको घटना भइरहँदासमेत प्रहरीले चोरहरुलाई समानत अथवा चोरी नियन्त्रण गर्न कुनै कदम नउठाएको उनले बताए ।
चोरीको घटना बारे प्रहरीलाई जानकारी गराउँदासमेत कुनै सुनुवाई स्थानीय विनय गुप्ताले बताए । प्रहरीले टोलमा रातीको समयमा गस्ती गर्न छाडेपछि चोरीको घटना बढेको गुप्ताको बुझाई छ । उनले प्रहरीलाई गस्ती बढाउँन आग्रह गरेका छन् ।