वीरगंज । मंसीर ४ मा आम निर्वाचन सम्पन्न भएको चार महिना बितिसकेको छ । यसबीचमा नयाँ सरकारको गठन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, पुरानो गठबन्धनको पुनरोदय लगायत राजनीतिक फेरबदल भए । यो राजनीतिक गोलचक्करसँग आम नागरिकको खास सरोकार छैन । आम नागरिकका मुद्दा र सरोकार अरू नै छन् ।
सरकार, दल, राजनीतिकर्मीसँग नागरिक आक्रोशित छन् । बढ्दो निराशाका बीच हरेक दिन २ हजार हाराहारी तन्नेरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छोड्न बाध्य भएका छन् । पाएसम्म हरेक युवाले देश छोड्न चाहेको छ ।
अमेरिका र युरोपसँग तुलना नगरौं, बाङ्लादेश र श्रीलंकाले समेत प्रतिव्यक्ति आय क्रमशः २५०० र ४००० डलर हाराहारीमा पुर्याइसक्दा हामी १३०० डलरमा सीमित छौं । हामी दक्षिण एशियाली देशहरूमा अफगानिस्तान पछिको न्यून आयमा थन्किएर बसेका छौं । यस्तो अवस्थाका बीच नेपाली कांग्रेस सरकारमा जाने तयारी गर्दैगर्दा देशप्रतिको जिम्मेवारी बहन गर्ने संकल्प साथमा बोक्नु आवश्यक छ ।