सप्तरी । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान करिब ९ बजेको समयमा महादेवा गाउँपालिका ४ डाडा मियाँ टोल बस्ने मो. जहुरको श्रीमति ५० वर्षीया अमिना खातुनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खातुनले आफ्नो घरको शौचालय छेउमा थुपारिराखेको जस्तापत्ता एक ठाउँ बाट अर्को ठाउँमा सार्ने क्रममा बिधुतको पोलमा प्रसारण भएको बिजुलिको नाङगो तारमा जस्तापत्ताले छोई करेन्ट लागेको प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
करेन्ट लागेर घाइते भएकी खातुनलाई भारदह अस्पताल सप्तरीमा उपचारको लागि लगेकोमा चिकित्सकले मृत्यु घोषणा गरेको उनले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।