वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा झण्डै २२ वर्ष पछि आयोजना गरिएको शतचण्डी महायज्ञको वेदी (पूजापाठ) को विधीमा सहभागी हुन अन्तत दलित समुदाय बन्चित भएका छन् । गैर दलितहरुले छुवाछुतको विभेद राखेर महायज्ञको वेदी (पूजापाठ) मा बस्न नदिने अडान कायम राखेपछि दलितहरु महायज्ञको पूजापाठमा सरिक हुनबाट बन्चित भएका हुन् ।अलौंमा बुधबार देखि शतचण्डी महायज्ञ शुरु भएको छ । पहिलो दिन भव्य कलशयात्रा पनि निकालिएको छ । तर महायज्ञको वेदी (पूजापाठ) मा बस्न आफुहरुलाई पनि दिनु पर्ने माग राखेर अलौंका दलित अगुवाहरुले एक महिना देखि आवाज उठाउदै आएका थिए । तर गैर दलितहरुलले महायज्ञको अरु कार्यमा दलितलाई सहभागी गराउन सकिने भएपनि वेदी (पूजापाठ) मा बसेर पूजापाठ गर्न नदिने अडान राख्दै आएका थिए । यो विवाद जिल्ला प्रहरी कार्यालय हुदै जिल्ला प्रशासन कार्यालय सम्म पनि पुगेको थियो । दलितहरुले आफुहरुसंग गरिएको विभेद विरुद्ध वीरगन्जमा सडक प्रर्दशन पनि गरेका थिए । संघर्ष समिति नै गठन गरेका उनिहरुले पत्रकार सम्मेलन गरेर महायज्ञमा जातिय छुवाछुतको विभेद गरिए आन्दोलन अझै चर्काउने चेतावनी पनि दिएका थिए ।
तर गैरर दलितहरुको अडान र दबाब सामु अन्नत दलितहरु झुक्न बाध्य भएका छन् । महायज्ञ शुरु हुने एक दिन अघि मंगलबार गाँउमै बसेको गैर दलित र दलित समुदाय बिचको छलफलमा महायज्ञको वेदी (पूजापाठ) कार्यमा बसेर पूजापाठ गर्न बाहेक अरु सबै कार्यमा दलितहरु सहभागी हुन पाउने सहमति गरिएको हो । विवादका कारण महायज्ञ नै राकिने परिस्थिती सृजना भएपछि आफुहरु त्यो सहमति मान्न बाध्य भएको संघर्ष समितिका अगुवा उमेश राम चमार बताउछन् । गाँउका अरु सबै जातिहरु एकजुट भए वेदी (पूजापाठ) कार्यमा दलितलाई बस्नै नदिने अडानबाट पछि नहटेपछि दलितहरु लाचार भएर सहमति मान्न बाध्य भएको उमेश बताउछन् । उनि भन्छन्,‘ हामी दलितहरु पनि आफनै अडानमा रहेको भए गाँउमा महायज्ञ नै रोकिएर काटमार नै हुने अवस्था आउन सक्थ्यो होला , तर हामीले त्यस्तो होस् भनेर चाहेनौ , अनि आफनो अडानबाट पछाडि हट्यौ । जातिय विभेद विरुद्ध विगत एक महिना देखि आवाज उठाएको र कानूनी निकायमा पुगेर गुहार्दा पनि आफुहरुको आवाज नसुनिएको गुनासो उनि पोख्छन् । उमेश भन्छन्,‘ आखिर गाँउमै विद्रोह गरेर बस्न पनि सकिदैन , यसपालिको यज्ञमा पहिलेदेखि चल्दै आएको परम्परा अनुसार वेदीमा दलितहरु नबस्ने तर अब आइन्दा हुने यज्ञमा भने बस्न दिने सहमति भएको छ , त्यसै अनुसार बुधबार देखि महायज्ञ शान्तिपूर्ण रुपमा शुरु भएको छ , हाम्रो कुनै विरोध छैन , कलशयात्रामा हामी पनि सहभागी भयौं ।
संघर्ष समितिका अर्का सदस्य कृष्ण कुमार राम चमार पनि जातिय छुवाछुतको विभेद विरुद्ध आफुहरुले एक महिना देखिख गरेको संघर्षबाट कुनै उपलब्धी प्राप्त नभएको बताउछन् । उनि भन्छन्,‘ हामीले सकेको जति संघर्ष गरयौ , तर अगुवाहरुले मिलेर जाउँ , अब अझै विवाद नगरौं भनेर सहमति गर्नु भएछ । अहिलेको २१ औं शताब्दिमा समेत छुवाछुतको विभेद गरेर महायज्ञको पूजापाठमा दलितलाई बस्न नदिएको देख्दा आत्मग्लानी भने भइरहेको उनले सुनाए । अलौंमै बस्दै आएका हरेदेव राम चमार पनि एक महिना देखि संघर्ष गर्दा समेत अन्तत छुवाछुतको विभेद कायमै रहको देख्दा आफुहरुलाई नमज्जा लागिरहेको गुनासो पोख्छन् । उनि भन्छन् ,‘ पूजापाठमा छुवाछुत गर्न पाइन्न भनेर एक महिना देखि विद्रोह गरयौ , तर हाम्रो विद्रोहको आवाज कसैले सुनेन् , अरु जातिहरुले जे चाहेका थिए आखिरमा त्यहि भएर छाड्यो । गाँउकै दलित अगुवाहरुले सहमति गरेपछि आफुहरु त्यसको बाधक बन्न नचाहेको पनि उनि बताउछन् ।
अब यसपछि विभेद हुन्न – वडा अध्यक्ष
वडा अध्यक्ष सन्जु बहादुर छत्कुलीले मंगलबार गाँउमै गैरदलित र दलित बिचको छलफलमा महायज्ञमा मिलेर जाने सहमति भएको बताए ।समय अभावका कारण यसपालिको महायज्ञको वेदी (पूजापाठ) पहिले देखि चल्दै आएको परम्परा अनुसार गैर दलित मात्रै बस्न पाउने र यसपछि हुने महायज्ञको वेदीमा दलितले पनि बस्न पाउने सहमति भएको वडा अध्यक्ष छत्कलीले बताए । उनले भने,‘ दलितहरु पनि आफनो अडानबाट एक कदम पछि हटे , गैर दलितहरु पनि आफनो अडानबाट एक कदम पछि हटे , अनि सहमति भयो । त्यहि सहमति अनुसार बुधबार देखि महायज्ञ शुरु गरिएको जानकारी उनले दिए ।
उनिहरु आफै मिले त म के गरु ? – सिडिओ
पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने मंगलबार गाँउमै छलफल गरेका दुवैपक्षले आफुहरु मिलेर महायज्ञ गर्ने सहमति गरेको जानकारी आफुलाई गराएकाो बताए । उनले भने,‘ चैत ५ मा सिडिओ अफिसमै भएको छलफलमा दुवै पक्षले हामी गाँउमै गएर मिल्छौ भनेर जानु भयो , हिजो (मंगलबार) मलाई फोन गरेर दुवै पक्षले हामी मिलिसक्यौ भनेर जानकारी गराउनु भयो । तर महायज्ञको वेदीमा जातिय छुवाछुतको भेदभाव राखेर दलितलाई बस्न दिइएन त ? भनेर प्रश्न गर्दा प्रतिप्रश्न गर्दै प्रजिअ रेग्मीले भने ,‘ दुवै पक्षले आपसि हसमति गरिसक्यौ , हामी मिलिसक्यौ भनेपछि मैले अब के गर्ने त ?
तर पर्साका दलित युवा अगुवा मनोर राम भने हिन्दु भएर हिन्दुले नै आयोजना गरेको महायज्ञको वेदीमा दलितलाई बस्न नदिनु जातिय छुवाछुतको विभेद भएको र यो कानुन अनुसार दण्डनिय अपराध नै भएको बताउछन् । उनि भन्छन् ‘ अलौंका दलितसंग दण्डनीय अपराध भएको छ , त्यसकारण मेलमिलापको नाममा यो अपराधको ढाकछोप गर्न पाइदैन , महायज्ञको वेदीमा दलितलाई बस्न नदिनेहरुलाई प्रहरी प्रशासनले पक्राउ गरि कारबाही गर्नु पर्छ ।उनि थप्छन् ,‘ जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले सार्वजनिक तथा निजी दुवै स्थलमा जातीय भेदभाव वा छुवाछुतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था छ । ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ । भेदभाव गरेमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।यहि व्यवस्था अनुसार कारबाही हुनुपर्छ ।