काठमाडौं– सुन महङ्गो हुँदै गएको छ । विवाहमा गरिने रिति पनि थपिन थालेका छन् । मेहेन्दी, हल्दी, संगीत के–के हो के–के । सबै गर्नै पर्ने । गहना र पहिरनमै लाखौँ खर्च । पार्टी प्यालेसको महङ्गाई अझ उस्तै । आफ्नालाई बोलाउनै पर्यो, खुवाउनै पर्यो । देखाउनै पर्यो । टाउकोमा ऋणको भारी जति नै बढोस्, देखाउन पर्ने बाध्यताले विवाह महँगो बन्दै गएको छ ।
अझ सेलिब्रेटीको कुरा बेग्लै । मिडिया लाइन लगाएर होस् चाहे फोटो र भिडियो बेचेरै पनि केही रकम फिर्ता लिए पनि विवाहमा हदै देखासिखी गर्दै खर्च बढाउन लागेका छन् । तर यो भिडभन्दा फरक रमेश अंकलको छोरोको नामले परिचित लेखमणि त्रिताल देखिएका छन् । उनले आफ्नो विवाह लामो समयसम्म गोप्य राख्न सफल भएका छन् । गत मंसिरमा विवाह गरेका उनले अहिले मात्रै तस्विर सार्वजनिक गरेका छन् ।
अझ खास कुरा त उनले प्रतीक्षा न्यौपानेसंग अत्यन्त कम खर्चमा विवाह गरेका छन् । उनका अनुसार जम्मा २५ हजार रुपैयाँ खर्चमा विवाह सम्पन्न भएको हो । यो खर्च अन्यको तुलनामा अत्यन्त कम हो ।
कलाकारको महङ्गो विवाह हुँदै गर्दा यो विवाह आम नेपालीलाई समेत उदाहरण बनेको छ ।