वीरगंज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १५ औँ स्थानमा उक्लिएको हो । योसँगै नेपालले ओमानलाई पछि परेको छ । आइसिसी विश्वकप लिग–२ सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले एकदिवसीय वरियतामा पनि सुधार गरेको हो ।
नेपाल पछिल्लो १२ म्याच खेल्नुअघि १९ औँ स्थानमा थियो । एक महिनाको बीचमा उच्च प्रदर्शन गरेपछि भने नेपालले वरियतामा पनि छलाङ मार्यो । नयाँ वरियतामा ओमान १६ औं, नामिबिया १७ औं, अमेरिका १८ औं, यूएई १९ औं र पपुवा न्यूगिनी (पिएनजी) २० औं स्थानमा छन् ।
त्यस्तै, नेपालभन्दा अगाडि रहेका नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् । नयाँ ओडिआई वरियतामा भारत शीर्ष र अस्ट्रेलिया दोस्रो स्थामनाम छन् । त्यस्तै, न्युजिल्याण्ड तेस्रो, इंग्ल्याण्ड चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौँ, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं, अफगानिस्तान दशौं र आयरल्याण्ड ११ औं स्थानमा छन् ।