वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कीएको पाटे बाघको आक्रमणमा परेर ठोरीको एउटा गोठका बाख्रा र भैसिको मरेका छन् । सोमबार राती ठोरी गाउँपालिका वडा नम्बर ४ घ्याङडाँडाका स्थानीय किसान मिक्मार लामाको गोठमा निकुञ्जबाट निस्केको पाठे बाघले आक्रमण गर्दा एउटा पाडा र ६ वटा बार्खा मरेका छन् ।
गोठका सञ्चालक लामाका अनुसार गएराति साढे १२ बजेको समयमा बाघले अचानक गोठमा आक्रमण गरेको थियो । बाघको आक्रमण बारे जानकारी पाउँन साथ आफूहरुले हारगुहार गरेर स्थानीयहरुलाई बोलाएको उनले बताए ।
स्थानीयहरुले धेरै प्रयास गर्दासमेत बाघलाई धपाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी, पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीलगायतको सहयोगले बिहान ४ बजेमात्र बाघलाई जङ्गल तर्फ धपाइएको थियो । बाघको आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति पुगेको गुनासो लामाले गरेका छन् । बाघ फेरि गाउँ पस्न सक्ने डरले घ्याङडाँडाका स्थानीय बासीन्दा त्रसित छन् ।