वीरगन्ज । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ ।तर वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भने स्थगित भएको स्ववियु निर्वाचन चैत १२ गतेभित्र गर्न क्याम्पस प्रशासनले नै आनाकानी गरेको छ ।
यसअघि चैत ५ मा तोकिएको निर्वाचन ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ मा गर्ने तयारी गरिएको भएपनि विवादका कारण क्याम्पस प्रशासनले स्थगीत गरि आगामी जेठ १३ गते गर्ने निर्णय गरेको छ ।
यसैबिच सोमबार मात्रै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले त्योभन्दा अगाडि नै रोकिएका क्याम्पसहरुमा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका छन् ।तर उपकुलपतिको निर्देशन ठाकुरराम क्याम्पसमा भने पालना हुने छाँटकाँट नै देखिएको छैन ।
क्याम्पस प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाले उपकुलपतिको निर्देशन आएपनि चैत १२ भित्र निर्वाचन गर्न सक्ने अनकुल परिस्थिती अहिले सम्म नदेखिएको बताएका छन् । चौरसियाले विधार्थी संगठन र राजननीतिक दलका नेताहरु निर्वाचन गराउन सहमत भएमात्रै चैत १२ भित्र निर्वाचन गराउन सम्भव भएको बताए । तर विधार्थी संगठनहरुले क्याम्पसका विभिन्न शाखाहरुमा गरेको तालाबन्दी जारी नै रहेको , मतदाता नामावलीको विवाद यथावत नै रहेकोले चैत १२ भित्र निर्वाचन गराउन समस्या देखिएको बताए ।
चौरसियाले भने ,‘ विभिन्न शाखामा तालाबन्दी गरिएको छ , सबै कागजपत्र कोठाभित्रै बन्द छन् , मतदाता नामावलीको विवाद यथावतै छ , चैत १२ देखि परिक्षा नै शुरु हुन्छ , यो अवस्थामा क्याम्पस प्रशासनले अबको ४/५ दिन भित्र कसरी निर्वाचन गराउन सक्छ ?
यद्यपि विधार्थी संगठन र दलका नेताहरु सहमत भएर अनकुल वातावरण सृजना गरिदिने हो भने क्याम्पस प्रशासनले चैत १२ भन्दा अगाडि निर्वाचन गराउन पहल गर्न सक्ने पनि उनले बताए ।
आइतबार वीरगन्जको नर्सिङ क्याम्पस सहित देशभरि नै त्रिविका आगिंक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन सम्पन्न भएको थियो । तर ६२ आगिंक क्याम्पसमध्ये ठाकुरराम क्याम्पस सहित १३ वटा क्याम्पसमा भने विवादका कारण निर्वाचन प्रक्रिया रोकिएको छ । मधेसखबर