वीरगन्ज । नेपाल सरकार, मन्त्रिपरिषदको आजको बैठकले खाली रहेको पाँच अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा प्र्रहरी नायब महानिरीक्षक (डीआइजी)हरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पदोन्नति गरेको छ ।
हालका प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंहले आउँदो चैत ११ ३० वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अकाश लिँदै छन् । पाँच दिन मात्रै एआइजी बनेर प्रहरी महानिरीक्षक (आइजीपी)को फूली लगाउने त्यो भाग्यमानी को होला ? अहिले आम चासोको विषय बनेको छ ।
यही एआइजीमा बढुवा भएका पाँच अनुहार मध्ये एकले आइजीपीको फूली हत्याउने छन् । अंक तालिकामा १ नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवर नै आइजीपी हुने धेरैले लख काटेका छन् । विगत केही वर्ष अघिसम्मको अभ्यास त्यही थियो ।
अब त्यो अभ्यासले काम गर्ने छैन । किन की नेपाल सरकारले चाहेको व्यक्ति आइजीपी हुने बाटो यसअघि एआइजी विश्वराज पोखरेलको रिटमाथि सुनु्वाइ गर्दै सर्वाेच्चले नजीर स्थापित गरिदिएको छ ।
आइजीपीबाट अवकास पाउने तीन कारण छन्, पहिलो ३० वर्षेे सेवा अवधि, दोस्रो चारवर्षेे कार्यावधि र तेस्रो ५८ वर्षेे उमेर । यद्यपि सेवा अवधि लम्ब्याउने प्रयास भने जारी नै छ ।
अहिले सिंह भने ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकासमा जान लागेका हुन् । उनी गत वैशाख १८ गते तल्लो बरियताबाट माथि उक्लिएर आइजीपी नियुक्त भएका थिए ।
कांग्रेस–माओवादीसहितको गठबन्धनका समयमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला कनिष्ठ एआइजीपी सिंहलाई देउबा कै पहलमा आइजीपी बनाइएको थियो । सिंह पनि पश्चिम नेपालकै भएको र देउवाको नजिक रहेकाले उनले त्यो अबसर पाएका थिए ।
त्यसअघि नेकपाको सरकार र एमाले एक्लैको सरकार हुँदा एसएसपी र डिआइजीमा फड्किएर अघि बढ्दै एआइजीसम्म पुगेका विश्वराज पोखरेल सरकार परिवर्तन भएकै कारण आइजीपीको दौडमा असफल भएका हुन् ।
यसअघि बरियतामा माथि (अरू प्रतिस्पर्धीभन्दा १६ महिना सिनियर) भए पनि विश्वराज पोखरेल आइजीपी हुनबाट रोकिएका थिए ।
त्यसविरुद्ध उनी सर्वाेच्चमा पुगे पनि पोखरेलको पक्षमा फैसला आएन । अब यी पाँच मध्ये जो कोहीलाई पनि आवश्यकता, दक्षताका आधार तोकेर सरकारले आइजीपी बनाउने बाटो सर्वाेच्चले नजिर स्थापित गरीइ खुलाइदिएको छ ।
आइजीपी सिंह अघिका घटनाहरुमा भने सिनियरलाई उच्च प्राथमिता नदिए प्रहरीको चेनअफ कमाण्ड भत्किने भन्दै ज्येष्ठतालाई मान्यता थियो ।
प्रहरीको ३० वर्षे सेवा अवधि हटाउनेबारे प्रयास भइरहे पनि सिंह भने सफल हुन नसक्ने देखिएको छ । यो प्रयास अघिल्लो प्रहरी महानिरीक्षक कै पालादेखि शुरु भएको थियो । आज मात्रै एआइजीपीमा पदोन्नति भएका कुँवर, राई, थापा, ज्ञवाली र बज्राचार्यमध्येबाट एक जना एआइजीको दज्र्यानी चिह्न लगाएको साता नपुग्दै आइजीपी बन्नेछन् ।
हाल बढुवा भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी, थापा बागमती, ज्ञवाली कोसी प्रदेश प्रहरी प्रमुख हुनुहुन्छ । बज्राचार्य भने प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख छन् ।
गएको असार ८ गते १७ जना एकै साथ एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । उनीहरु विसं २०५१ चैत ५ र २०५२ भदौमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्न सक्ने एआइजी वा डिआइजीबाट पदोन्नति गरी आइजीपी बनाउनसक्ने उल्लेख छ । तर यो व्यवस्था अमूर्त रहेकाले जो सुकैलाई पनि आधार तोकेर नियुक्त गर्न सक्ने पूर्व प्रहरी अधिकारीहरु बताउँछन् ।
बज्राचार्य आइजीपी प्रतिष्पर्धाको पहिलो महिला
यसपाली आइजीपीको प्रतिस्पर्धामा पहिलोपटक एआइजी किरण बज्राचार्य पुगेकी छिन् । यसअघिकी पूजा सिंह महिला प्रहरी कर्मचारीबाट पहिलो एआइजीमा पुगेर अवकास भएकी थिइन् । उनी आइजीपीको प्रतिष्पर्धामा पुग्न नसकी घर फर्किएकी हुन् ।
त्यसअघि पार्वती थापा डिआइजीबाट बाहिरिएकी थिइन् । बज्राचार्यसँगै डिआइजीमा बढुवा भएका उनकै ब्याजी मीरा चौधरी, दुर्गा सिंह र किरण राणा हाल एआइजी बढुवामा पछि परे ।
सिंहसँगै यी एआइजी, डिआइजी र एसएसपी बाहिरिँदैछन्
चैत ११ मा प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह अवकास हुँदा उनी एक्लै जाँदैनन् ।
उनीसँगै ४ एआइजीले पनि अनिवार्य अवकास लिँदैछन् । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा (प्रहरी एकाडेमी), उत्तमराज सुवेदी (सिआइवी) र दिवेश लोहनी (उपत्यका प्रहरी कार्यालय) बाट अवकाश पाउनेछन् । एक जना एआइजी आइजीपीमा पदोन्नति भएपछि त्यो सिट पनि खाली हुने हुँदा चार एआइजीको पद पुनः रिक्त हुन आउँछ ।
यस्तै हालका आइजीपी सिंहसँगै अबकास पाउनेमा उनका ब्याची डिआइजीत्रय मोहन आचार्य, नलप्रसाद उपाध्यय र मसाउद आलम खाँ र एसएसपीद्वय उमाशङ्कर पञ्जियार र जनक पाण्डे छन् ।
आइजीपी सिंहका अबकासपछि रिक्त हुने चार एआइजीमा डिआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच चर्काे प्रतिपष्र्धा हुनेछ ।
उनीहरु सबै चैत ११ पनि बन्ने आइजीसँग अबकासमा जाने भएकाले चार एआइजी हुनु पनि सौभाग्यकै कुरा बन्ने भएको छ । यही ११ गतेपछि बन्ने आइजी र उनका ब्याचीको कार्यकाल आउँदै दुई वर्षका लागि हुनेछ ।
३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैत ४ भित्रमा कार्यकाल सकिँदा हाल रहेका डिआइजी र एआइजी सबै अनिवार्य अवकासमा जाने छन् ।