जनकपुरधाम l त्रिभुवन विश्वविद्यालयको जनकपुरधामस्थित आंगिक क्याम्पस रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जना विद्यार्थीले आ–आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।
आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म भएको मतदान शान्तिपूर्ण तरिकाले भएको हो ।
राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादव, पाँच दलीय संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादव सभापतिका उम्मेदवार छन् । गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राप्रपा निकटका विद्यार्थी संगठनहरू रहेका छन् ।
त्यस्तै, जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्बाट अभिशेक साह सभापतिका उम्मेदवार छन् ।
राराबमा स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् ।