वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी जेठ १३ गते हुने भएको छ । चैत ५ गते हुने भनिएको निर्वाचन ८ गते गर्ने भनिएपनि पुनः स्थगित भएर साढे २ महिनापछि धकेलिएको हो । जेठ १३ गते निर्वाचन गर्ने जिल्ला प्रशासन कार्यालयमा बुधवार राजनीतिक दल र क्याम्पस प्रशासन बिच सहमती भएको हो ।
निर्वाचन समितिले दुइ दुइ पटक प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर विद्यार्थी संगठनले पटक पटक विवाद गर्दै क्याम्पसमा आगजनी र तालाबन्दी समेत गरेपछि स्ववियु निर्वाचन साढे २ महिना पछि धकेलिएको हो ।
देशभरका क्याम्पसमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने चैत ८ गते गर्ने गरि निर्वाचन कार्यतालिका निर्वाचन समितिले फागुन २९ गते सूचना सार्वजनिक गरेको थियो । तर विद्यार्थी संगठनहरुको विवादका कारण ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन अब आगामी जेठ १३ गते गर्ने क्याम्पस प्रशासन र राजनीतिक दलहरुले सहमति गरेका छन् ।
विवादका कारण चैत ८ गते स्ववियु निर्वाचन गर्न सक्ने अवस्था नदेखिएको र चैत १२ देखि विभिन्न संकायको परिक्षा शुरु हुने भएकाले जेठ १३ गते निर्वाचन गर्ने सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।
नेपाली काँग्रेसका जिल्ला सहसचिव नवीन सिंहले पनि चैत ८ मा निर्वाचन हुन सक्ने परिस्थिती नभएका कारण जेठ १३ मा गर्ने सहमति गरिएको बताए । सहमति अनुसार अब निर्वाचन समितिले जेठ १३ मा निर्वाचन गर्ने गरि सूचना जारी गर्ने क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियाले जानकारी दिए ।
यसअघि निर्वाचन समितिले तोकेको चैत ८ मा भने निर्वाचन गर्न सम्भव नै नभएको उनको भनाई छ । चैत १२ देखि क्याम्पसमा परिक्षा शुरु हुने र त्यो तै महिनाभरि चल्ने त्यसपछि बैशाख ४ गते देखि फेरि अरु संकायको परिक्षा शुरु हुने भएका कारण जेठमा निर्वाचन गर्ने सहमति गरिएको चौरसियाले बताए ।
बुधबारको सर्वपक्षीइ बैठकमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल शाह, क्याम्पस प्रमुख डा. उमेश चौरसिया, निर्वाचन अधिकृत रोशन लामिछाने, नेपाली काँग्रेसका जिल्ला सहसचिव नवीन सिंह, जसपाका जिल्ला सचिव तबरेज अहमद, नेकपा एमालेका नेता शीवजी गुप्ता, नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्ता लगायतको सहभागिता थियो ।