वीरगञ्ज । विद्युत चोरी गरेको आरोपमा पर्साको ग्रामीण भेगबाट ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रबाट खटिएको टोलीले सोमबार राति विभिन्न गाँउबाट ८ जनालाई पक्राउ गर्नुका साथै १ थान विद्युतीय मोटर पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा बिरन्चीबर्वाका असर्फी राउत र जवाहिर राम, झौवागुठीका बाबर अली, पँचरुखीका खेदन रायभर, हरदियाका सरोज यादव र मनमोद प्रसाद यादव, बहुअर्वाका सुरेन्द्र रायभर र महुवनका जितेन्द्र राम रहेका छन् ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख जगर्नाथ झाले जानकारी दिए ।