वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भोट मागेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर रामसहाय यादवले प्रधानमन्त्री प्रचण्डसँग उपराष्ट्रपति निर्वाचनमा आफूलाई सहयोग गर्न अपिल गरेका हुन् । पूर्वमन्त्री एवम् जसपाका सांसद् प्रदीप यादवसहितको टोलीसँगै प्रधानमन्त्री कार्यालय पुगेका रामसहाय यादवले उपराष्ट्रपतिमा आफूलाई भोट दिएर सत्ता गठबन्धन संघीयता, लोकतन्त्र र गणतन्त्रको मर्म एवम् भावना विपरित भइरहेको गतिविधिविरुद्ध एक ढिक्का भएर उभिएको सन्देश दिन आग्रह गरेका छन् ।
जवाफमा प्रचण्डले संघीयता र गणतन्त्रको रक्षाका निमित्त आफू र आफ्नो दलले उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सांसद् प्रदीप यादवले जानकारी दिए । त्यसैगरी यादवले पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटघाट गरेर उपराष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।
नेपालले पनि उपराष्ट्रपतिमा आफ्नो र दलको सम्पूर्ण मत रामसहाय यादवलाई नै जाने प्रतिबद्धता दिएको प्रदीप यादवले बताए । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते तोकिएको छ । रामसहाय यादवको विपक्षमा नेकपा एमालेले अष्टलक्ष्मी साक्यलाई उठाएको छ ।