वीरगंज । वीरगञ्जमा दुईवटा मोटरसाइकल एकआपसमा ठोकिंदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । बाराको परवानीपुर गाउँपालिका-४ चैनपुरका अन्दाजी २५ वर्षीय सुरज सर्राफको मृत्यु भएको हो । वीरगञ्ज-१६ बस्ने अन्दाजी २६ वर्षीय विपिनकुमार कुशवाहा घाइते भएका छन् । उनको दुवै हात भाँचिएको छ । बाराको नौतन बहुअरीस्थित एलएस न्युरो अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार वीरगञ्ज- पथलैया सडकखण्ड अन्र्तगत वीरगञ्ज-१४ गण्डक चोकमा बुधबार राति ९ बजे दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०३-००४ प ७९३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ना२५प ४००३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । गम्भीर घाइते अवस्थामा दुवै मोटरसाइकलका चालकलाई उद्धार गरेर प्रहरीले एलएस न्युरो अस्पतालमा उपचारका लागि पठाएको थियो ।
एलएस न्युरोमै उपचारको क्रममा ७९३० नम्बरको मोटरसाइकलको चालक सुरजको बिहीबार बिहान २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।होली पर्वको बहानामा अत्याधिक मादक पदार्थ सेवन गरेर, ट्राफिक नियम उलंघन गरेर सवारी साधन चलाउँदा ११ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । जसमा १२ जना घाइते भएका छन् ।