बारा । बारामा भएका छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा एक भारतीय सहित दुई जनाको मृत्यु भएको छ ।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ हनुमान मन्दिर स्थित सडकमा ना २ प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री कलैया ९ रामपुरका ३५ वर्षिय रहिम अन्सारीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते भएका अन्सारीको वीरगन्ज स्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल चालक कलैया १४ का २५ वर्षिय सागर चौधरीलार्ई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बोगटीले बताए । यस्तै बाराकै सुवर्ण गाँउपालिका वडा नम्बर ६ धरमपुरमा फागुन १५ गते भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका भारतीय नागरिकको पनि उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहारको छौडादानो घर भएका २७ वर्षिय भैयाराम साह रहेका छन् । फागुन १५ गते राति भारतबाट बाराको जोलगावा तर्फ आउदै गरेको बीआर ०५ एजी १२८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा मोटरसाइकल चालक भैयाराम र त्यसमा सवार छौडादानाकै ३४ वर्षिय सन्देश साह घाइते भएका थिए । दुवैको प्रसौनी स्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेकोमा शनिबार भैयरामको मृत्यु भएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।