परासी : नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुराकी २९ वर्षीया प्रतिमा थारूले दुई छोरालाई लिएर गण्डक नहरमा हाम फालिन्। हाम फालेको देखेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले करिब तीन घण्टाको खोजी कार्यपछि उनीहरूको शव नहरबाट निकालेको थियो। ९ वर्षीय छोरा क्रिस र ७ वर्षीय सुमितलाई लिएर प्रतिमाले गण्डक नहरमा हाम फालेकी थिइन्। घटना १० दिन अघिको हो।
प्रतिमाले आफ्नो दायाँ र बायाँ हातमा छोराहरूको हातलाई सलले बाँधेर नहरमा हाम फालेकी हुन्। त्यही अवस्थामा उनीहरूको शव फेला परेको हो। घटनापछिको अनुसन्धानमा प्रहरीले गरिबीकै कारण उनले मृत्युको बाटो रोजेको हुन सक्ने जनाएको छ। प्रतिमाका श्रीमान् रोजगारीका लागि भारतमा छन्। केही महिना अघि घर आएका प्रतिमाका श्रीमान्ले घर खर्च चलाउन १० हजार दिएका थिए। श्रीमान्ले लामो समयसम्म पैसा नपठाउने र दैनिकी गुजार्न पनि समस्या हुन थालेपछि उनले त्यस्तो योजना बनाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए। ‘प्रतिमा छिटो रिसाउने स्वभावकी रहिछन्। छिटो रिसाउने व्यक्तिले जुनसुकै निर्णय पनि छिट्टै नै गर्न सक्ने भएकाले आत्महत्याको बाटो रोजेको हुन सक्छ’, पाण्डेले भने।
आत्महत्या घटनाको अनुसन्धानमा राम्रो दक्खल राख्ने डीएसपी पाण्डे भन्छन्, ‘प्रतिमाले यो योजना तत्कालै गरेको हुन सक्छ। स्थान तय गरेरै उनी त्यहाँ पुगेको हुन सक्ने बुझिन्छ,’ पाण्डेले भने। उनका दुई सन्तान हुन्। ९ वर्षको छोरालाई आत्महत्या गर्नका लागि नभनी फकाएको हुन सक्ने पाण्डेको बुझाइ छ।
‘छोराहरूलाई फकाएर सलले हातमा बाँधेको हुनुपर्छ। उँचो ठाउँमा गएर हाम फाल्दा छोराहरूले शंका गरेर भाग्न सक्ने र नहरको छेउमा गएर बहाना बनाएर सलले बाँधेर एकै पटक हाम फालेको देखिन्छ,’ पाण्डेले घटनालाई केलाउँदै भने।