वीरगंज । ठाकुरबाबा नगरपालिका– १ भुरीगाउँको सडक किनारमा महिलाको शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । नेपाल टेलिकम कार्यालय नजिक कञ्चनपुर– नेउलापुर जाने सडक किनारमा ठाकुरबाबा– ५ गोविन्दपुर घुम्ना फाँटाकी ४२ वर्षीया सन्चुरिया थारु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।
मंगलबार दिउँसो घरबाट पेट दुःखेको औषधि लिन भुरीगाउँ हिँडेकी उनी राति अबेरसम्म घर फर्किनन् । घरकाले सोही दिन अबेरसम्म खोजी गर्दा थारुको शव फेला परेको थिएन । बुधबार बिहान स्थानीयले सडक किनारामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । स्थानीय र जिल्लाबाट डिएसपी बोहोराको नेतृत्वमा तीन दिनदेखि घटनाका सम्बन्धमा अनुसन्धान गरेपनि वास्तविकता बाहिर आउन सकेको छैन ।
‘घटनास्थलमा उनले प्रयोग गरेको साइकल र बाँया खुट्टामा सामान्य खस्रेको देखिन्छ,’ उनले भने, ‘शरीरको अन्य भागमा चोटपटक देखिँदैन, पोष्टमार्टम रिपोर्ट आउनासाथ अनुसन्धानमा सहज हुने छ ।’ मृतकको साइकल पनि घटनास्थल नजिक रहेको र मृतक महिलाको चप्पल र सल पनि नभएकोले शंकास्पद रहेको परिवारले गम्भीररुपमा छानबिन गर्न माग गरेका छन् । मृतक थारुका श्रीमान्, दुई छोरा, बुहारी छन् । दुई छोरा र एक बुहारी कामको सिलसिलामा काठमाडौं बस्दै आएको डीएसपी बोहोराले जनाए ।