वीरगंज । नेपाल विद्यार्थी संघ (नेविसंघ)को आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । आज नेविसंघको इतर पक्षले आफू पक्षीय विद्यार्थी नेतामाथि कुटपिट भएको भन्दै केन्द्रीय कार्यालयमा तोडफोड गरेको छ ।
बिहीबार साँझ ५ बजेतिर अनामनगरस्थित केन्द्रीय कार्यालय पुगेर इतर पक्षका विद्यार्थी नेताहरूले तोडफोड गरेका हुन् । नेविसंघ संस्थापन पक्षका नेता विनोदराज जोशीका अनुसार कार्यालयबाट एउटा डीएसएलआर क्यामरा र तीनवटा ल्यापटपसमेत चोरी भएका छन् ।
इतरका पक्षका एक नेताका अनुसार आज त्रिभुवन विश्वविद्यालयमा पूर्वनिधारित कार्यक्रम थियो । त्यही कार्यक्रमा सहभागी नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमालमाथि कुटपिट भएको थियो । रिमाललाई संस्थापन पक्षले कुटपिट गरेको आरोप लगाउँदै इतर पक्षका विद्यार्थी नेताहरू केन्द्रीय कार्यालय पुगेर तोडफोड गरेका हुन् ।
तोडफोडबाट झ्यालका सिसा फुटेका छन् भने कुर्सीहरू पनि भाँच्चिएका छन् । स्ववियु चुनावलक्षित तयार पारिएका कागजात च्यातिएका छन् । संस्थापन पक्षले एक्लौटी गरेको आरोप लगाउँदै इतर पक्षले समानन्तर गतिविधि गर्दै आएको छ ।