बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महँगी, कालोबजारी तथा अखाद्य वस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको हो ।
विषयगत रुपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न बिक्री पसल, ११ वटा मासु बिक्री पसल, १६ वटा मिष्ठान्न भण्डार, नौवटा योजना निर्माण, चारवटा नदीजन्य पदार्थको चोरीनिकासी अनुगमन गरिएको छ ।
यस्तै, तीनवटा विद्यालय अनुगमन, आठवटा खेल संरचना अनुगमन, २२ वटा होटल तथा स्पा सेन्टर अनुगमन, १५ वटा सहकारी अनुगमन र आठवटा वडा कार्यालय अनुगमन गरिएको छ । अनुगमनका क्रममा कानुन र मापदण्डविपरीत काम गरिरहेका पसल तथा संस्थाहरुलाई कानुनबमोजिम कारबाही गरेको उनले बताए । उनले आगामी दिनमा पनि निरन्तर अनुगमन हुने भएकाले उपभोक्ता र व्यवसायी तथा उत्पादकहरु सचेत हुनुपर्ने बताए ।