वीरगंज । पछिल्लो समय सहकारी संस्थामा बचतकर्ताको भिड लाग्न थालेपछि कतिपय सहकारी संस्थाका सञ्चालकहरू फरार छन् । सञ्चालक समितिका पदाधिकारीहरूले समस्याको बारेमा बचतकर्ता र ऋणीलाई बुझाउन छोडेर फरार हुँदा त्यसको असर कर्मचारीमा परेको छ । दिनहुँ बचतकर्ताले बचत फिर्ता मागेर धम्की दिन थालेपछि सहकारी संस्थाका कर्मचारी नै सहकारी विभागमा सुरक्षाको माग गर्दै पुग्न थालेका हुन् । बिहीबार पनि सहकारी विभागमा यसरी सुरक्षा माग्न जाने कर्मचारीहरूको भिड नै थियो । विभिन्न सहकारी संस्थाबाट आएका प्रतिनिधिहरू बचतकर्ताको धम्की बढेको भन्दै आफूहरूलाईे सुरक्षा दिनुपर्ने मागसहित विभागमा उपस्थित भएका थिए ।
बचतकर्ताको दबाबका कारण सहकारीका कर्मचारी अहिले तनाबमा छन् । उक्त समूहमा आएकी एक महिला कर्मचारीले आफूहरू बचतकर्ताको दबाबका कारण मानसिक रोगको सिकार बन्न पुगेको बताइन् । उनले भनिन्, “हाम्रो व्यवस्थापन र बोर्डले वास्ता नगरेकाले हामी आफै सुरक्षाको माग गर्दै विभागमा आउनु परेको छ । अहिले हामी मानसिक रोगी भएका छौं । कतिपय साथीहरू त मानसिक रोगको उपचार गराउन अस्पताल पुगेका छन् ।” सहकारीका सञ्चालकको लापारबाहीले गर्दा कर्मचारीलाई समस्या परेको उनीहरूको भनाइ छ । सहकारीको अहिलेको अवस्थाले गर्दा आफूहरूलाई निजी संस्थाहरू कुनैमा पनि काम गर्न नपरोस् जस्तो भएको ती महिलाले बताइन् । “अहिले सहकारीमा बचतकर्ताहरू ऋण झिक्न मात्र आउने गरेका छन् । ऋण लैजानेहरु ऋण तिर्न आउँदैनन् । अनि नयाँ बचत पनि आएको छैन । सहकारीमा पैसा नहुँदा दिन सक्ने अवस्था पनि छैन । त्यसैले आजकाल दैनिक भिड हुनुका साथै हामीलाई तथानाम गाली मात्र आउँछ,” उनले भनिन्, “यसरी हामीले पीडा भोग्नु परेको छ । बाध्यताले हामी विभागमा आएका हौं । यो अवस्थाको समाधान खोज्नु पर्यो ।”
त्यस्तै, विभागका उप–रजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय यस्ता समस्या लिएर नियमित सहकारीका कर्मचारी आउने गरेको बताउँछन् । “सहकारीका कर्मचारीहरूले सुरक्षाको माग गरिरहनु भएको छ । हामीले सुरक्षा निकायलाई सहयोगका लागि पत्र लेखिदिन्छौं,” उनले भने, “सुरक्षा निकायले उहाँहरूलाई सुरक्षा दिन्छ । कुनै पनि सहकारीको विषयमा बचतकर्ताले उजुरी दिएमा हामी सञ्चालक समितिका पदाधिकारीहरूलाई झिकाएर आवश्यक सोधपुछ पनि गर्छौं ।”सहकारी संस्था स्वनियमन हुनु पर्नेमा सञ्चालकको आफूखुसी निर्णयले गर्दा पछिल्लो समय समस्या उत्पन्न भएको बताइएको छ । केही सहकारीका कारण राम्रो सेवा प्रवाह गर्दै आइरहेका सहकारी पनि जोखिममा परेको जानकार बताउँछन् । यो समस्या समग्र अर्थतन्त्रसँग जोडिएको पनि बताइएको छ । यो समस्याको निकासका लागि सरकारले नै कदम चाल्नुपर्ने देखिन्छ ।