हेटौँडा । हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथमा बिहीबारदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सडक मर्मत सम्भारको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको हो । कान्ति लोकपथ हुँदै हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
हेटौंडाबाट काठमाडौं जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन हुनेछ । हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किमि लम्बाईको रहेको यस मार्गमा साढे ८ मिटर चौडा बनाएको छ । दुई लेनमा गाडी चल्ने गरी सात मिटरमा कालोपत्रे गरिएको छ ।
कान्ति लोकपथको ट्रयाक २०१३ सालमा खुलेको थियो । सुरुमा एक लेनको यो सडकमा ०१६ सालदेखि गाडी चल्न थालेका थिए । कान्तिलोक पथ नेपाली सेनाको पहिचान जोडिएको छ । नेपाली सेनाले सडक निर्माणको थालनी कान्तिलोक पथबाट सुरु गरेको हो । नेपाली सेनाले अहिले तीन दर्जन सडक मार्गहरू निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । पछिल्लो समयमा काठमाडौं–निजगढ फास्ट ट््रयाक(द्रूतमार्ग) निर्माणको जिम्मेवारी लिएको छ ।