वीरगंज । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेट भएको छ । भेटमा महानगरपालिकाका गतिविधिसँगै काठमाडौं क्षेत्र नं. ५ सँग सम्बन्धित विकास निर्माणका योजनाका विषयमा छलफल भएको छ । सो क्षेत्रबाट निर्वाचित सांसद पौडेलले क्षेत्रको विकासका सन्दर्भमा मेयर शाहलाई स्थानीय सरकारको तर्फबाट आवश्यक समन्वय, सहयोग र सहकार्यका लागि आग्रह गरेका छन् । ‘काठमाडौं महानगरका प्रमुख बालेन शाहसँग अर्थपूर्ण भेटघाट भयो । भेटमा हामीले काठमाडौं महानगर र क्षेत्र नम्बर ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी गर्यौं,’ पौडेलले भने ।
सांसद पौडेल र मेयर शाहबीच कलंकीदेखि धोबीखोलासम्म चक्रपथ विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माण कार्य अघि बढाउने विषयमा छलफल भएको छ । त्यस्तै, मेलम्ची खानेपानी विस्तारलाई महानगरभित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने, हाँडीगाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने विषयमा पनि छलफल भएको पौडेलनिकट विद्यार्थी नेता सुशील भट्टले जानकारी दिए ।
त्यस्तै, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर बर्सेनि हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाटलगायत क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने विषयमा पनि छलफल भएको पौडेलले जनाएका छन् । ‘आज भएको छलफल अत्यन्तै सकारात्मक रह्यो । काठमाडौं महानगर प्रमुखले महानगर सुधारका निम्ति देखाउनुभएको तत्परता र ऊर्जाले उहाँसँग निरन्तर सहकार्य हुने विश्वास लिएको छु,’ पौडेलले भनेका छन् ।