रौतहट । पूर्वपश्चिम राजमार्गको लालगढमा सवारी चेकिङका नाममा पैसा असुलेको आरोपमा ट्राफिक प्रहरी हबल्दार अनुसन्धानमा तानिएका छन् । लालगढमा सवारी रिफ्रेस सेन्टरमा भारतीय ट्रकचालकसँग पैसा असुलेको आरोपमा प्रहरी हबल्दार सत्यनारायण मण्डलमाथि अनुसन्धान सुरु भएको हो । मंगलबार भारतको कानपुरबाट अंगुर बोकेर आएको यूपी ७८ एचएन ४५५५ नम्बरको मिनी ट्रकलाई १ हजार भारतीय रुपैयाँ जरिवाना लाग्छ भनेर मण्डलको टोलीले रोकेको चालक दीपक पालको आरोप छ । आफ्नो कुनै गल्ती नभएको भन्दै प्रतिबाद गरेपछि खाजा खर्चमै ट्राफिक प्रहरीले आफूलाई छाडेको पालले बताए । आफूले १५० भारतीय रुपैयाँ खाजा खर्च दिएको पालले बताए ।
\
भारतबाट रक्सौल बोर्डर हुँदै नेपाल आएका उनले वीरगन्जबाट जनकपुरसम्म आइपुग्दा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई पोस्टैपिच्छे ५० देखि २ सय रुपैयाँसम्म दिनुपरेको दाबी गरे । मंगलबार नै पालको ट्रकपछि आइरहेको मार्बल बोकेको यूपी ५३ एफटी ०९४० नम्बरको ट्रकबाट पनि ट्राफिकले उही शैलीमा पैसा असुलेको आरोप छ । ट्रकचालक सरफरोस कुमारले आफूले ५० भारतीय रुपैयाँ दिइएको बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन मधेस प्रदेश कार्यालय पथलैया बाराका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले घटना थाहा पाएलगत्तै बारा जिल्ला पुगेको अंगुर बोक्ने भारतीय ट्रकलाई रोकेर सोधपुछ गरेका थिए । त्यसपछि आफूले अनुसन्धानका लागि तत्काल हबल्दार मण्डललाई पथलैया झिकाएको उनले बताए । लामो यात्रामा सवारी चलाउँदा थकित बनेका चालक र यात्रुहरुलाई केही समय रोकेर आराम गराउन लालगढमा रिफ्रेस सेन्टर स्थापना गरिएको हो । तर रिफ्रेस सेन्टरका नाममा सवारीचालकसँग पैसा असुलेर ट्राफिक प्रहरीले सताएको गुनासो भने बढ्न थालेको छ ।