वीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता नै मधेशको भविष्य रहेको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित मधेश प्रज्ञा प्रतिष्ठानको शुभारम्भ गर्दै उनले संघीयताको रक्षा गर्दै भाषा संस्कृतिलाई पुर्नजागृत गरी अर्को पुस्ताले गौरव गर्ने अवस्थाको सृजना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । केही व्यक्तिहरुले संघीयताको विरोध गर्दै एकात्मक शासनको कुरा उठाउँदैछन् तर त्यो सुर्योदयको बेला दीप जलाएर संघीयताको विरोध गर्दैछन् तर अब त्यो कदापि सम्भव नरहेको उनले धारणा राखे । संघीय गणतन्त्रमा त्रुटि भए त्यसलाई सुधार गर्नसक्ने भएको चर्चा गर्दै लोकतन्त्र,गणतन्त्रको विकल्प गणतन्त्र नै हुने र अर्को कुनै विकल्प हुन नसक्ने उनले प्रष्ट गरे। संघीय प्रणालीलाई समाप्त पारी फेरि मुलुकलाई एकात्मक ,केन्द्रिकृत निरंकुश शासनतर्फ लैजाने दुष्प्रयास भइरहे पनि त्यो प्रयास कदापि सफल हुन नसक्ने उनले बताए । उनले भने पटक–पटक भन्दा पनि आजसम्म उनीहरुकै कारण संघीय निजामती ऐनसमेत संघीय संसदबाट पास हुन सकेको छैन । निजामती ऐन पास नहुँदा प्रदेश सरकारलाई आफ्नो कर्मचारी तन्त्र नै छैन । सरकार कसलाई भन्ने ? एउटा आर्मीको सवारी गार्ड लिएर घुम्नुलाई सरकार भनिंदैन ।
सरकार त्यसलाई भन्ने हो जसको आफ्नो प्रशासन होस ,आफ्नो अदालत होस,आफ्नो कानून होस,आफ्नो प्रहरी होस आफ्नो स्रोतसाधनमा अधिकार होस अनि न आफ्नो सरकार । त्यसैले अहिलेको सरकार पहिलेको सरकारलाई बेवास्ता गरेको छ । अहिलेको सरकारसंग हामीले दुईटा कुरा तत्काल गर्नुपर्ने माग गर्दछौं । संघीयता निजामती ऐन छिटो भन्दा छिटो पास गर्नुपर्ने र प्रदेशको कर्मचारीतन्त्रलाई स्थापित गर्नुपर्ने अर्को प्रहरी समायोजन ऐन प्रहरीलाई प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने माग पनि उनले गरे । मिथिलाको सभ्यता र संस्कृति उत्कर्षमा रहेको बेला नेपाल र नेपालीको कुनै अस्तित्व नै नरहेको बताउँदै लामो समयदेखि परतन्त्रताको अवस्थामा रहेको कारण सो गौरव हराउँदै गएको उनले धारणा राखे । त्यसैले अहिले पनि हामी सचेत हुन चुक्यौ भने संघीय गणतन्त्र समाप्त भएर जाने नेता यादवले भने ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले निर्वतमान मधेश सरकारले बनाएको आयोग र प्रतिष्ठानहरु इमान्दारीपूर्वक काम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिष्ठान र आयोग तलब भत्ता मात्र पकाउने काम बाहेक केही गर्न नसकेको उनको कथन थियो । प्रतिष्ठानको कामलाई प्रभावकारी रुपमा अघि बढाउन सके मात्रै यसको औचित्य रहने उनले बताए । प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडिको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, अर्थ मन्त्री संजय कुमार यादव, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, सामाजिक विकास मन्त्रालका सचिव, मधेश सरकारका मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुर, प्रतिष्ठानका सदस्यद्वय गोपाल ठाकुर र दिनेश यादवसहितले शुभकामना मनतव्य राखेका थिए ।