वीरगंज । मुलुककै प्रमुख भन्सार नाका वीरगन्जबाट आयात–निर्यात व्यापार घटेको छ । मालबाहक सवारी साधनले भरिभराउ रहने यहाँस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसरको पश्चिमी भाग अहिले खाली देखिन थालेको छ । आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समिति कार्यालयका अपरेसन इन्चार्ज जितेन्द्र रसाइली सामान्य अवस्थामा यो नाकाबाट दैनिक १ हजार २ सयदेखि १ हजार ३ सयसम्म मालबाहक ट्रक भित्रिन्छन् । अहिले मुस्किलले ४ सयदेखि ५ सय हाराहारी मात्र मालबाहक सवारीसाधन भित्रिरहेको जानकारी दिए । कार्यालयको तथ्यांक हेर्दा चालु आवको माघ मसान्तसम्ममा यो नाका हुँदै १ लाख ४ हजार ४ सय ५८ वटा विभिन्न प्रकारका मालवस्तु बोकेका मालबाहक सवारीसाधन भित्रिएका छन् । यसै अवधिमा ८ हजार ३ सय ६८ मालबाहक सवारीसाधन नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी गरिएका मालवस्तु बोकेर बाहिरिएका थिए । यस अवधिमा आयात र निर्यातका गरी १ लाख १२ हजार ८ सय २६ मालबाहक सवारीसाधन आवागमन गरेका छन् ।
गत आवको यसै अवधिमा आयातका १ लाख ३७ हजार ६ सय ५२ र निर्यातका १६ हजार ९ सय ८२ गरी १ लाख ५४ हजार ६ सय ३४ मालबाहक आवागमन गरेका थिए । तुलनात्मक रूपमा चालु आवको ७ महिनामा ४१ हजार ८ सय ८ मालबाहक सवारीसाधनको आवागमन घटेको छ । यस वर्ष बढी भित्रिएका मालबाहक सवारीसाधनमा इन्धन बोकेका ट्यांकर, धान चामल बोकेका ट्रक र मेसिनरी पार्टपुर्जा बोकेका लरी छन् । रसाइलीले चालु आवमा समग्रमै आयात निर्यात व्यापार घटेकाले आयातको एलसी नै कम खुलेको बताए । त्यसबाहेक केही आयातकर्ताले नाका परिवर्तन गरी विराटनगर तथा भैहरवा नाकातर्फ गएको अनुमान पनि गरिएको उनले बताए । आईसीपी परिसरमा लामो समयदेखि थन्किएका भारत तथा तेस्रो मुलुकबाट आयातित जिप, कार, भ्यानजस्ता हलुका सवारी तथा बस ट्रकका चेसिस एवं तयारी बससमेत जाँचपास भई छुट्ने क्रम भने बढेको छ । त्यसै कारण पनि कुनै बेला अधिकतम २ हजार ५ सयको संख्यासम्म पुगेका नयाँ सवारीसाधन अहिले घटेर २ हजार ३१ म झरेको उनले बताए । हाल आईसीपी परिसरमा रहेका २ हजार ३१ नयाँ सवारीसाधनमध्ये ६ सय ३७ कार, जिप, भ्यान छन् भने १ हजार ३ सय ९४ बस ट्रकका चेसिस छन् ।
इन्चार्ज रसाइलीले भने, ‘जापानमा निर्मित हुन्डाई कारको आयातकर्ता लक्ष्मी इन्टरकन्टिनेन्टल र टोयोटा कारको आयातकर्ता युनाइटेड ट्रेड सिन्डिकेट प्रालिले पनि दैनिकजसो कार जाँचपास गराई लगिरहेका छन् ।’ यसबाहेक सिप्रदी ट्रेडिङले पनि दैनिक ४ देखि १२ वटासम्म नयाँ चेसिस जाँचपास गराई लगिरहेको उनले जानकारी दिए । उनले बैंकले सवारीसाधनमा लगानी गर्न थालेपछि नयाँ सवारीसाधन जाँचपास हुने क्रम बढेको हुन सक्ने बताए । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले फागुन महिनामा दैनिकजसो नयाँ सवारीसाधन जाँचपास हुने क्रम बढेको बताए । ‘सोमबार मात्रै २६ वटा बस एकै दिन जाँचपास भई गएका छन्, त्यसबाट १४ करोड रुपैयाँ एकमुष्ट राजस्व आएको छ,’ उनले भने, ‘मैले बैंकले भन्दा पनि आयातकर्ताले आफ्नै लगानीमा सवारीसाधन छुटाउन थालेको महसुस गरेको छु ।’उनले सवारीसाधन जाँचपास बढे राजस्व संकलनमा पनि उत्साहजनक वृद्धि हुने बताए । हाल वीरगन्ज भन्सारले लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसक्नुमा विगतको जस्तो सवारीसाधनको दैनिक जाँचपास नहुनु नै मुख्य कारण रहेको उनले बताए ।