वीरगंज । नेकपा एकीकृत समाजवादी (एस) ले राष्ट्रपतिको निर्वाचनमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरेको र पार्टीका सांसदहरूलाई निर्देशन गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले सरकारमा जाने विषयमा भने अहिले कुनै छलफल नभएको बताए । ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनभन्दा अगाडि सरकार गठन हुँदैन । अहिले त्यही निर्वाचनमात्रै हो,’ उनले भने, ‘सरकार गठनको विषय त्योभन्दा पछि छलफल गरे हुने विषय हो । हामी सरकारमा सहभागी हुने विषयमा सकारात्मक छौं । तर अहिले त्यस्तो कुनै निर्णय भएको छैन ।’ उनले राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीले गरेको निर्णयमा पार्टीभित्र कुनै मतभेद नभएको समेत दाबी गरे ।