वीरगंज । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ । यी दुई कम्पनी एक आपसमा मर्ज भई आजबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको बैठकले फागुन १७ गतेबाट एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो ।
यी दुवै कम्पनीको पुस २९ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यी कम्पनीलाई नेपाल बिमा प्राधिकरणले माघ १६ गते र नेपाल धितोपत्र बोर्डले माघ २४ गते तथा कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
यी दुई कम्पनी दुवै १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । दुई इन्स्योरेन्स मर्जरपछि चुक्तापुँजी दुई अर्ब ८० करोड ६५ लाख रुपैयाँ पुगेको छ । मर्जरअघि प्रिमियर इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ४० करोड २६ लाख रुपैयाँ रहेको थियो भने सिद्धार्थ इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ४० करोड ३९ लाख रुपैयाँ थियो ।