काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको चेकिङका क्रममा मापसे गरेर स्कुल बस चलाउने एकसहित ८७ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । विविध कसुरमा ८७ चालकलाई कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ । मापसे गरी सवारी साधन चलाउँदै गरेका एकजना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ का २७ वर्षीय बुद्ध लामा रहेका छन् । उनी बुङमतिस्थित त्रिरत्न माध्यमिक विद्यालयको वाग्मती प्रदेश–०१–००६ ख ४६ २९ नम्बरका बस चालक हुन् ।
कोटेश्वरमा भएको चेकिङमा लामाले मदिरा सेवन गरी स्कुल बस चलाएको ट्राफिक प्रहरीले जनाएको छ । उनलाई थप कारबाहीका लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ । त्यस्तै, अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका दुईजना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने, सवारी साधनको अवस्था ठिक नराख्नेलगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालकहरु पनि कारबाहीमा परेका छन् ।
नयाँसपार्कमा १५, कीर्तिपुरमा तीन, कलंकी र काँडाघारीमा दुई/दुई र न्यूरोड क्षेत्रमा एकजना गरी २३ जना ट्याङ्कर चालकहरू कारबाहीमा परेका हुन् । यसका साथै अन्य विविध कसुरमा पनि ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको ट्राफिक प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।