वीरगंज । देशमा राजावादी शक्ति सकृय भएको बताउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई सचेत रहन आग्रह गरेका छन् । राजावादीहरुले काठमाण्डुमा विशाल जनप्रदर्शनको तयारी गरिरहेको बेला एसका अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
पार्टी सुदृढीकरण अभियान अन्तर्गत लालगढमा आयोजित मधेश प्रदेशको भेलामा उनले भने, ‘ एमालेमा पनि राजावादीहरुले लाल सलाम भन्न छाडेका छन् ।‘ लोकतान्त्रिक गणतन्त्रमाथि संगठित रुपमा आक्रमण हुन सक्ने देखिएको छ ।’ उनले भने, राजावादीहरुको गतिविधिमा नलाग्न चेतना फैलाउन कार्यकर्ताहरु लाग्नु पर्छ । राष्ट्रपति चुनावको क्रममा बनेको ८ दलीय गठबन्धनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने उल्लेख गर्दै उनले भने, एमालेले संघीयता विरोधी, लोकतन्त्र र गणतन्त्र विरोधीहरुलाई लिएर अगाडि बढेको छ ।
वामपन्थी शक्तिहरुसंग मिलेर जानका लागि आफूहरुले आह्वान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरुसंग सहकार्य गर्न तयार रहेको उनले विमानस्थलमा सञ्चारकर्मीहरुलाई बताए । ‘एजेण्डा मिल्नेहरुसँग मोर्चा बनाएर अघि बढ्न आफूहरु तयार छौ, उनले भने, सबैकुरा मिल्नेहरुसँग एकताबद्ध हुन पनि सकिन्छ ।तर कुनै पार्टीमा विलय हुन नसकिने उनले बताए ।