वीरगंज । भारतबाट नेपालमा आएको ४ वटा डिजेल ट्यांकरमा मिसावट भेटिएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) को सिलगुडी डिपोबाट नेपाल आएको ४ वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट पाइएको हो । निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । शंका गरिएका ती ४ वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतबाट आएको ४ वटा ट्यांकरमा भएको ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको बताए ।
उनले भने, ‘अहिले झापाको चारआली शाखामा रहेको ४ वटा ट्यांकरको डिजेलको अनुसन्धान भइरहेको छ । डिजेलमा मटीतेल मिसावटको आशंका छ । छानबिन समितिले मिसावटको विषयमा प्रतिवेदन पेस गरेपछि निगमले कारबाही गर्नेछ ।’ नेपालमा भन्दा पनि भारतमा नै डिजेलमा मिसावट भएको हुनसक्ने निगम बताउछ ।
नेपालमा मटीतेल र डिजेलको मूल्य बराबर छ । भारतमा भने कोटामा पाइने मटीतेलको प्रतिलिटर ३० देखि ५० रूपैयाँ सस्तो हुने गरेको छ । निगमका अनुसार परीक्षणपछि ती ट्यांकरलाई कारबाही गरेर डिजेल बराबरको गुणस्तर बनाई हाल मिसावट भएको डिजेल बिक्री गरिने छ । नेपालमा डिजेल र मटीतेलको मूल्य बराबर भएपछि बीचमा मिसावट बन्द भएको थियो ।