वीरगंज । २०७२ सालमा वैशाख १२ मा भूकम्प जाँदा सञ्चारका अधिकांश साधन सञ्चालनमा आउन सकेनन् । तर मोबाइल सेवा भने केहीबेर समस्यामा परे पनि चल्न थालिसकेका थिए । त्यसले उद्धार र राहतमा धेरै सहयोग पुगेको थियो । भूकम्पले धनजनको ठूलो क्षति भए पनि फोन सम्पर्क गर्नको लागि भने ठूलो समस्या भएन । कल्पना गर्नुहोस् त भूकम्पले मोबाइल सेवा प्रदायक कम्पनीमा क्षति पुर्याएको भए भूकम्पछिको राहत तथा उद्धारमा समेत यसले कति प्रभावित पार्ने थियो ? निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले भूकम्पपछि सेवा सञ्चालन भए पनि नेपालमा भरपर्दो डेटा सेन्टर राख्नुपर्ने अवस्था देख्यो । सूचना प्रविधिको युगमा डेटा सेन्टरको महत्व निकै ठूलो हुन्छ । एनसेलले नेपालमा डेटा सेन्टर बनाउने तयारी गर्यो । नक्खुमा एनसेलले डाटा सेन्टर बनायो । बाहिरबाट हेर्दा डेटा सेन्टर एउटा भवन जस्तो देखिन्छ ।
एनसेलले दुई अर्ब लगानी गरेर डाटा सेन्टर तयार पारेको हो । जसले ९ रेक्टरसम्मको भूकम्प आए पनि केही क्षति नहुने संरचनामा एनसेलको डाटा सेन्टर बनाइएको छ । एनसेलले डाटा सेन्टर सञ्चालनमा ल्याएको दुईवर्ष पूरा भएको छ । एनसेलको यो डाटा सेन्टर नेपालमा भएकामध्ये सबैभन्दा आधुनिक हो ।डाटा सेन्टरमा हरेक प्रमाणीको ब्याकअप छ । यसको लागि पावर र कुलिङको विकल्प राखिएको छ । एउटा नचलेमा अर्कोबाट काम लिने गरेर एनसेलले यो सेन्टर चलाएको छ । चिनियाँ कम्पनी हुबावेको प्राविधिक सहयोगमा तयार भएको डाटा सेन्टरमा ३० मिनेटको लागि ब्याट्री ब्याकअप छ । यस्तै २५ हजार डिजेल जडित क्षमताको जेनेरेटर ब्याकअप छ । जसले ७ दिनसम्म विद्युत् आपूर्ति नभए पनि सेन्टर सुरक्षित रूपमा सञ्चालन हुन्छ । जसमा डीसी क्षमता २५० र्याक रहेको छ । २२० भोल्टको एसी र्याकको संख्या ८८ छ । ४८ भोल्टको डीसी ¥याकको संख्या १६२ रहेको छ । एनसेलले डेटा सेन्टर सञ्चालन गर्नको लागि नेपाल विद्युत् प्राधिकरणबाट ४ मेगावाटको डेटिकेटट विद्युत् प्रसारण लाइन लिएको छ ।
विद्युत् गएमा अटोमेटिक रूपमा जेनेटर सञ्चालन गर्ने प्रणाली बनाएको छ । जसको आवाज बाहिर आउने छैन ।यसलाई साउण्ड प्रुफ बनाउने गरेर जेनेरेटर चलाउने प्रणाली एनसेलले चलाएको छ । डाटा सेन्टरमा धुँवा तथा धुलोको जानकारी स्वचालित प्रणालीले दिने गर्छ । आगलागी नियन्त्रणको लागि सेन्टरभित्र स्वास्थ्यलाई कम हानी गर्ने ग्यासहरू राखिएको छ । स्वचालितरुपमा ढोका खुल्ने तथा आगलागीको साइरन बजेपछि ग्यास आफैं खुल्ने प्रणाली छ । एनसेलले दुईअर्ब लगानी लगाएर खोलेको डाटा सेन्टरमा अहिले एनसेलले आफूले बाहेक अन्य कर्पोरेट ग्राहकलाई समेत सेवा दिने नीति बनाएको छ । अहिले विभिन्न इन्टरनेट सेवा प्रदायक तथा केही बैंक तथा वित्तीय संस्थाले एनसेलको डाटा सेन्टरको प्रयोग गरेका छन् । एनसेलले सरकारी निकायलाई समेत डेटा सेन्टर प्रयोग गर्न दिन सकिने जनाएको छ । पछिल्लो समय सरकारी निकायमा सर्भरको कारण सर्वसाधारणले निकै दुःख पाउने गरेका छन् । यसको उदाहरणको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भरमा भएको समस्याले यात्रुले लगातार दुःख पाएका छन् । सरकारी निकायलाई काम लाग्ने गरेर डाटा सेन्टर बनाइएको हुँदा आफूहरु सेवा दिन सक्ने अवस्थामा रहेको एनसेलको दाबी छ ।