वीरगञ्ज । मधेश प्रदेशका ऊर्जा तथा खानेपानी विकास मन्त्री सिंहासन सा कलवारलाई मंगलवार बधाई तथा सम्मान गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) जिल्ला कार्य समिति पर्साले मन्त्री कलवारलाई मंगलवार एक कार्यक्रमका बिच बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सम्मान गरेको हो ।
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले पार्टीकै देनस्वरुप आज आफु मन्त्री भएको बताए । पार्टीप्रतिको इमान्दारीता र जिम्मेवारी बहन गरेको प्रतिफलस्वरुप विश्वास गरेर २ पटक प्रदेश सभाको टिकट दिलाउनुका साथै जनताले पनि मत दिएर जिताएको स्मरण गर्दै उनले मन्त्री बनेकोमा खुशी व्यक्त गरे ।साथै आगामी दिनमा पनि पार्टीकै समन्वयमा मन्त्रालयका कामहरु पनि गर्ने र पार्टी संगठन र मन्त्रालयको जिम्मेवारी दुवैलाई समानान्तर ढंगले अघि बढाउने कलवारले बताए ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्यहरु फिरोज मन्सुर, सलमा खातुन, रेखा साह, प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, पर्साको धोबिनी गाउँपालिका अध्यक्ष एवम् पार्टीका मधेश प्रदेश समिति सदस्य मदन प्रसाद चौहान, पर्सा जिल्ला सहइन्चार्ज महाराज यादव लगायतले मन्त्री कलवारलाई बधाई तथा शुभकामना दिएका थिए । क्षेत्र नम्बर ३ का अध्यक्ष एवम् जसपा जिल्ला सदस्य नागेन्द्र प्रसाद यादवले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए ।
साथै जसपा निकट समाजवादी विद्यार्थी संघले पनि मन्त्री कलवारलाई बधाई तथा सम्मान गरेको छ । समाजवादी विद्यार्थी संघ पर्साका अध्यक्ष एजाज बाबु राकीको अध्यक्षतामा भएको कार्यक्रममा जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, नेता सुरेन्द्र कुर्मी, ठाकुरराम क्याम्पसका प्रमुख प्राध्यापक डा. उमेश चौरसिया, समाजवादी विद्यार्थी संघका केन्द्रीय सदस्य निखिल वर्णवाल, जसपाका युवा नेता आमिर आलम, ठाकुरराम ईकाई कमिटीका अध्यक्ष हरेन्द्र यादव लगायतका नेता एवम् विद्यार्थी नेताहरुको उपस्थिती रहेको समाजवादी विद्यार्थी संघ ईकाई कमिटीका उपाध्यक्ष शशीकान्त सर्राफले जानकारी दिए ।