वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ । आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् । लाखौंको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट हजारी साह र विवेक चौधरीले संचालन गरेको कपडा पसल जल्दा पाँच÷पाँच लाख,
मोहम्मद सुबराति र अनिल साहले संचालन गरेको कपडा पसलमा क्रमशः २० लाख र १७ लाख, मुनुलालप्रसाद रौनियारले संचालन गरेको हरिओम ट्रेडर्समा २० लाख र अन्जनीप्रसाद चौरसियाले संचालन गरेको पसलमा पाँच लाखको क्षति भएको प्रारम्भिक अनुमान छ । मार्केटमा अनिल साहले संचालन गरेको कपडा पसलबाट आगलागी सुरु भएको थियो । विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगो किन र कसरी लाग्यो ?
भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । व्यापारी मनोज साहले आगो लागेको देखेपछि होहल्ला गरेर मान्छे जम्मा पारेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका र नेपाल आयल निगम गरी ३ वटा बारूणयन्त्र, सुरक्षा निकाय र स्थानीय बासिन्दाको प्रयासमा आगोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । बिहान ७ः३० बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको थियो । समयमै आगो नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।